विष्णुमती नदी सफाइका क्रममा मूर्ति भेटियो 


२०८१ चैत ३ आइतबार ००:३७ बजे

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नदी सरसफाइका क्रममा विष्णुमती नदी खण्डमा मूर्ति भेटेको छ । सो नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए नभएको  विषयमा पुरातत्व विभागले अध्ययन तथा प्रमाणीकरण गर्ने निर्णय समेत गरिएको महानगरले जनाएको छ ।  

महानगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार स्थानीयले दाबी गरेको स्थानको मूर्ति हो कि होइन भन्नेबारे पुरातत्व विभागबाट अध्ययन गरेर पेस गर्ने तयारी रहेको छ । स्थानीय र सम्पदा अभियन्ताहरूले यो मूर्ति विष्णुमती नदी किनारामा रहेको भीममुक्तेश्वर मन्दिरबाट हराएको कामदेव (छत्रचण्डेश्वर, लकुलिस) हो भनेर दाबी गरेका छन् । यो दाबीपछि भेटिएको मूर्ति पूर्ववत् स्थानमा फर्काउन सकियोस् भनेर अध्ययन थालिएको महानगरले जनाएको छ  ।

महानगरका सम्पदा सल्लाहकार यादवलाल कायस्थले पनि उक्त मूर्ति कालीमाटी पुलबाट ज्ञानतीर्थतर्फ विष्णुमती नदी किनारामा भएको भीममुक्तेश्वर मन्दिरको भएको दाबी गरे । विसं २०७८ चैत २४ गते मूर्ति हराएपछि खोजीका लागि कालीमाटी प्रहरीमा निवेदन दिएको उनले बताए । कालीमाटी प्रहरी वृत्तका प्रहरी वरिष्ठ नायब निरीक्षक लेखबहादुर मगरले पनि कायस्थको भनाइलाई पुष्टि गरे । 

पूर्ववत् स्थानमा मूर्ति राख्नका लागि यो स्थान पहिचान गर्नुपर्ने बताइएको छ । सम्बन्ध भएका निकायसँगको छलफलपछि पुरातत्व विभागले अध्ययन गर्ने, अध्ययनले देखाएको अवस्थापछि थप प्रक्रिया अगाडि बढाउने विषयमा साझा धारणा रहने पनि महानगरले जनाएको छ ।  महानगरपालिकाले सञ्चालन गरेको नदी सरसफाइ स्वर्णिम योजनाअन्तर्गत विष्णुमती नदीमा डोजर लगाएर सफाइ गर्ने क्रममा गत फागुन २४ गते शनिबार बिहान उक्त भेट्टाइएको थियो ।

नदी भित्रबाट निकालिएको मूर्ति धोइपखाली गरेर अहिले महानगर प्रहरी बलको कार्यालयमा राखिएको छ । कार्यक्रमका सम्पर्क व्यक्ति सानुमैया महर्जनका अनुसार कालीमाटी पुल र ज्ञानतीर्थ बीचको नदी खण्डमा फोहरसँग पुरिएको अवस्थामा मूर्ति निकालिएको हो । लामो समय पानीमा रहेकाले मूर्तिको आकार पूर्ण भए पनि सूक्ष्म कला र अङ्गहरूको आकृति भने बिग्रिएको अवस्थामा रहेको बताइएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७