कृषिको आधुनिकीकरण गरी खाद्यान्न आयात अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिप्रधान मुलुक नेपालले जीविकाका लागि पनि बाहिरबाट खाद्यान्न आयात गर्नुपर्ने दुरावस्था फेर्नुपर्नेमा जोड दिएका छन् ।
दक्षिण एसियाली किसान सम्मेलनको आज उदघाटन गर्दै प्रधानमन्त्री ओलीले ६० प्रतिशत जनता कृषिमा संलग्न भए पनि परम्परागत कृषिका कारण खाद्यान्नमा आत्मनिर्भर र निर्यात गराउन सक्ने अवस्था हुन नसकेको बताए । उनले युवाहरुलाई विदेश पलायन हुन रोकेर साना साना उद्योगमार्फत आधुनिक कृषिको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनु पर्ने बताए ।
सम्मेलनमा दक्षिण एसियाका विभिन्न देशका २५ बढी किसान संगठनका प्रतिनिधि सहभागी छन् । दुई दिने सम्मेलनमा दक्षिण एसिया क्षेत्रमा रहेका किसानहरुले भोगिरहेका समस्या र ती समस्या समाधानका विषयमा बृहत छलफल गरिने जनाइएको छ ।