सरकार शिक्षकहरुलाई अपमानित गर्नेतिर लागेको छ : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार आन्दोलनरत शिक्षकहरुलाई अपमानित गर्नेतर्फ लागेको आरोप लगाएका छन् ।
आज (शनिबार) काठमाडौँमा आयोजित प्रेस सेन्टर नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले छोटो बाटोबाट भए पनि विद्यालय शिक्षा ऐन ल्याउनु पने बताए । ‘लाज पचाएर शिक्षकलाई अपमानित गर्नेतिर सरकार लागेको छ,’ प्रचण्डले भने, ‘शिक्षकसँग भएका सहमतिअनुसार ऐन तत्काल ल्याउनु पर्छ र छोटो बाटोबाट लागू गर्नुपर्छ ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकको आन्दोलनप्रति दोहोरो चरित्र देखाएको समेत आरोप लगाएका छन् । ‘प्रतिपक्षमा हुँदा शिक्षकलाई आन्दोलन गर्न उक्साउने व्यक्ति अहिले प्रधानमन्त्री छन्, तर शिक्षकमाथि अपमान भइरहेको छ,’ प्रचण्डले भने । तर, आफूहरु सरकारमा हुँदा पनि जायज माग सम्बोधन गर्नुपर्छ भन्ने पक्षमा रहेको र त्यसै अनुसार सहमति गरेको भन्दै उनले अहिले पनि त्यही धारणा रहेको उल्लेख गरे ।
‘हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नु पर्छ’
माओवादी अध्यक्ष प्रचण्डले अहिले अहिले माओवादीहरूसँग बन्दुक नभएकाले प्रचार संयन्त्रमार्फत नै बुर्जुवाहरूसँगको लडाइँ लड्नुपर्ने बताएका छन् । उनले अहिले बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि नभएको बताए ।
उनले भने, ‘अहिले हामीसँग बन्दुक छैन । बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि होइन । त्यस कारण हामीसँग अब प्रचार संयन्त्रमार्फत नै हामीले बुर्जुवाहरूसँग लडाइँ लड्नु पर्छ । प्रचार संयन्त्रमार्फत नै वैदेशिक प्रतिक्रियावादसँग लड्नु छ । देशभित्रका सबै यथास्थितिवादीसँग र प्रतिगामी षड्यन्त्रका विरुद्ध लड्नु छ । त्यसैले यो क्षेत्रलाई पार्टीले उच्च प्राथमिकतामा राखेको छ । पार्टीको यो प्राथमिकतालाई ठिक ढंगले नै बुझ्नुभएको महसुस मैले गरेको छु ।’ अध्यक्ष प्रचण्डले अहिले देशको राजनीति निकै पेचिलो परिस्थितिबाट अगाडि बढेको बताए ।