बाढीसम्बन्धी पूर्व सूचना दिन तालगाउँमा साइरन


२०८२ बैशाख १५ आइतबार ०१:५७ बजे

मनाङ । मनाङको नासों गाउँपालिका–१ तालगाउँमा मस्र्याङ्दी नदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसिएस) ले बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ । गाउँपालिका र एचडिसिएसको सहकार्यमा रु २६ लाखको लागतमा तालगाउँमा साइरन जडान गरेपछि स्थानीय विपद्बाट बच्ने भन्दै खुसी भएका छन् ।

विसं २०७८ असार १ मा मनाङमा भीषण वर्षा भयो । वर्षासँगै आएको बाढीले मर्स्रयाङ्दी नदी किनारका कैयांँ स्थानीयलाई घरबारविहित बनायो । बाढीले क्षतिग्रस्त भएपछि लामो समयसम्म गाउँले पालमुनि बस्न बाध्य भएका थिए । बाढीले सबैभन्दा बढी नासोँ गाउँपालिका–१ ताल गाउँमा क्षति पुर्‍याएको थियो । नासों–१ का वडाध्यक्ष मीनरासी गुरुङका अनुसार तालगाउँमा ६३ परिवार छन् । मर्स्रयाङ्दी नदी किनारसँगैको बस्ती भएकाले यहाँका अधिकांश घरमा बाढी पसेको थियो । पटकपटक बाढी आउँदा लाखौँको धनमाल गुमाएका तालगाउँवासीले अब विपद् आउनु पूर्व सूचना पाउने भएपछि खुसी भएका हुन् ।  

वडाध्यक्ष मीनरासी गुरुङले साइरन जडानपछि वर्षाको समयमा गाउँले ढुक्कसँग निदाउन पाउने भएको भन्दै खुसी व्यक्त गरे । लमजुङसँग सीमा जोडिएको तालगाउँलाई विपद्बाट जोगाउन पूर्व सूचना दिने साइरन जडान गरिएको एचडिसीएसका मनोसामाजिक परामर्शदाता शोभा ठकुरीले जानकारी दिए । उनका अनुसार नासों–८ को धारापानीमा राखिएको एक यन्त्रले मर्स्रयाङ्दी नदीमा पानीको सतह मापन गर्नेछ । स्वचालित उक्त यन्त्रले मर्स्रयाङ्दी नदीमा खतराको सतह पार गरेको संकेत गर्नासाथ साइरन बज्न थाल्ने ठकुरीले बताए । साइरन तालगाउँभरि सुनिने गरी राखिएको छ। साइरनसँगै खतराको संकेतको सूचना मोबाइल एसएमएसबाट पनि जाने प्रबन्ध गरिएको उनले उल्लेख गरे ।

यदि विद्युत् आपूर्ति बन्द भएमा, इन्टरनेट बन्द भएमा पनि कटुवालमार्फत  खतरासम्बन्धी सूचना गाउँलेले थाहा पाउने छन् । स्थानीय सुरक्षित स्थानतर्फ जान सक्ने प्रबन्ध गरिएको ठकुरीले जानकारी जानकारी दिए । सुरक्षित स्थानका लागि स्थानीय फुटबल खेल मैदानलाई प्रयोग गर्नेगरी स्थानीय गाउँमा रहेको मर्स्रयाङ्दी युवा क्लबसँग समन्वय गरिएको छ । यसअघिको डुबानका बेलामा पनि उक्त ठाउँमा पानी सतह पुग्न सकेको थिएन । साइरन जडानपछि स्थानीय जनप्रतिनिधि, आमा समूह, युवा क्लबका पदाधिकारी, प्रहरी र स्वास्थ्य चौकी तथा स्थानीय बासिन्दालाई एक दिने प्राथमिक मनोसामाजिक सहयोगसम्बन्धी तालिम पनि दिइएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७