स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार : तत्कालीन निर्देशक मिश्रसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका तत्कालीन निर्देशक डा. श्रवणकुमार मिश्र र सेभेन हिल्स प्रालिका सञ्चालक अनिल शाहसहित आठजना र सेभेन हिल्स प्रालिउपर गैरकानुनी लाभ तथा हानि पुर्याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
अख्तियारले मधेस प्रदेश, सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, तत्कालीन निर्देशक डा. श्रवणकुमार मिश्र र हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डितसमेत १५ जना र हस्पिटेक इन्टरप्राइजेज प्रालिउपर पनि गैरकानुनी लाभ तथा हानि पुर्याई भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको हो ।
खरिद प्रक्रियामा गुरुयोजना र पूर्व सम्भाव्यता अध्ययन नगरी, लाभ-लागत विश्लेषण र उपयुक्त खरिद विधिको पहिचान नगरी बजेट माग गरिएको पाइएको छ। उपकरण जडान हुने स्थानीय तहको जनसंख्या, बिरामीको चाप र उपकरणको क्षमता विश्लेषण नगरी खरिद प्रक्रिया अघि बढाइएको र खरिद गरिएका उपकरण कुन पालिकामा जडान हुने भन्ने समेत नखुलेको आयोगले जनाएको छ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार २५ करोड ३८ लाख ५३ हजार १२० रूपैयाँ बजेटको सार्वजनिक खरिद नियमावली, ऐन र आर्थिक कार्यविधिविपरीत खरिद कार्य गर्नु पूर्वतयारीको कार्य नगराई विश्लेषणसमेत नगरी ठेक्का आव्हान गरिएको अख्तियारले जनाएको छ ।
आयोगले रु. ५,०१,९०,०८० बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुलको माग गरेको छ। मधेस प्रदेशमा ६४ स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला स्थापनाका लागि गरिएको ठेक्कामा सार्वजनिक खरिद नियमावली, २०६४ को उल्लंघन भएको आयोगको ठहर छ।
अख्तियारले तत्कालीन सचिव इमनारायण श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेज प्रालि तीनकुने काठमाडौं र कम्पनी सञ्चालक विशाल पण्डितसहित लेखा अधिकृत दास, तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साह, प्रदेश प्रयोगशालाका तत्कालीन निर्देशक डा. श्रवणकुमार मिश्र, वरिष्ठ ल्याव टेक्निसियन निरीक्षक गुणानन्दप्रसाद साहविरुद्ध मुद्दा दायर गरेको हो ।
त्यस्तै अन्य प्रतिवादीमा मेडिकल ल्याव टेक्नोलोजिष्ट मनमोहन मिश्र, ल्याव टेक्निसियन निरीक्षक रामउदगार यादव, अधिकृत नवौ तहका माइक्रो बायोलोजिष्टहरू जितेन्द्रकुमार साह, अमरेन्द्रकुमार मिश्र, ल्याव असिष्टेन्ट रमेश कुमार मण्डल, लेख अधिकृत अमरदीप महतो, कर्मशील प्रशाद गोप, वरिष्ठ ल्याव अधिकृत उमेश चौधरी छन् ।