करिब १८ अर्ब अवैध कारोबारमा संलग्न २१ जना पक्राउ


२०८२ बैशाख १६ सोमबार २०:५४ बजे

काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले करिब १८ अर्ब रुपैंयाँ बराबरको अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई ११ जिल्लाबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरूले विदेशबाट प्राप्त विप्रेषण रकमलाई आन्तरिक विप्रेषणको नाममा अवैध कारोबार गरी नेपालमा ठूलो परिमाणमा रकम परिचालन गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले करिब १७ अर्ब ८६ करोड ७० लाख रुपैयाँभन्दा बढी अवैध कारोबार गरेको खुल्न आएको छ । प्रहरीका अनुसार आन्तरिक विप्रेषण बन्द भइसकेको अवस्थामा विदेशबाट प्राप्त हुने विप्रेषण रकम आप्रवाहमा अवरोध गर्दै अवैध कारोबार सञ्चालन गरिएको थियो । संलग्न व्यक्तिहरूले भन्सार छली, सुनको अवैध कारोबार र कर छलजस्तै गतिविधि सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनीहरूले सजिलो पे र पेवेल नेपाल प्रालिजस्ता डिजिटल वालेट कम्पनीहरू प्रयोग गरी रकमलाई विभिन्न बैंक खातामा जम्मा गर्ने र त्यसपछि मनी ट्रान्सफर कम्पनीहरूमार्फत ई–मनी बनाई विदेशी कामदार तथा विद्यार्थीका आफन्तहरूको खातामा रकम ट्रान्सफर गर्ने गरेका थिए ।

पक्राउ परेकाहरूमा मोरङ, महोत्तरी, सप्तरी, सर्लाही, धनुषा, पर्सा, नवलपरासी, चितवन लगायत जिल्लाका व्यक्ति संलग्न रहेको खुलेको छ । पक्राउ परेकाहरूमा विरेन्द्र प्रसाद साह, दिपेन्द्र प्रसाद साह, श्रवण कुमार साह, तारालाल यादव, हरेराम महतो, निरोज कुमार महतो, अलिता देवी महतो, प्रकाश सिंह, अरुण कुमार साह, प्रदिप कुमार साह, संजिव कुमार महतो, राजकमल लोनिया, भिमकुमारी गुरुङ, राम विलास साह तेली, ममता कुमारी साह, बिकर्ण जंग राणा, गणपति पाण्डे, सलमा खातुन, शुसिला कुमारी साहु, गोविन्द प्रसाद आचार्य र सम्भु मेहता रहेका छन् ।

उनीहरूले डीएस ट्रेडर्स तथा रेमिट्यान्स, डिप ज्योति ट्रेडर्स, रिया ट्रेडर्स, आनन्द ट्रेडर्स, न्यू सन्ध्या इन्टरप्राइजेज, एलिटा मनी ट्रान्सफर, श्री अञ्जल इन्टरप्राइजेज, आर एन्ड आर सब रेमिट प्रा.लि., जय मा जानकी मनी ट्रान्सफर, पुजा सप्लायर्स, ताशी ट्राभल्स एन्ड टुर्स, शिवम् इन्टरप्राइजेज, ससविका मनी ट्रान्सफर, गोल्डेन स्काई टुर्स एन्ड ट्राभल्स, खुसी मनी ट्रान्सफर, राधिका ट्रेडर्स, हिमालयन मनी ट्रान्सफर र सगरमाथा रेमिट्यान्सजस्ता एजेन्सी तथा कम्पनीमार्फत कारोबार गरिरहेका थिए।

नेपाल राष्ट्र बैंकबाट जारी आदेश र निर्देशनविपरीत अवैध कारोबार सञ्चालन गरेको आरोपमा उनीहरूमाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान जारी रहेको र यसमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि भइरहेको जानकारी दिएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७