अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिकहरूको योगदानको चर्चा गर्दै देशको विकासमा उनीहरूको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले ‘देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले’ भन्दै श्रमिकहरूको महत्वलाई उजागर गरेका हुन् ।
प्रधानमन्त्रीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सफलता पनि उल्लेख गरेका छन् । प्रधानमन्त्रीका अनुसार सुरुवातमा आलोचना र व्यङ्ग्य सहनुपरे पनि हाल यो योजनाबाट २० लाखभन्दा बढी श्रमिकले लाभ लिइरहेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा योजनालाई देशको महत्वपूर्ण उपलब्धिको रूपमा प्रस्तुत गरे । सामाजिक सुरक्षा योजनाले श्रमिकहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ ।
‘श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि जब योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्यौं, व्यङ्ग्य र ट्रोलहरू सहनुपर्यो । तर आज, ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका छन् ।’
प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ । छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन—श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौं ।’ प्रधानमन्त्रीले ‘श्रमलाई सम्मान गरौँ, श्रमिकलाई सम्मान गरौँ । जय श्रमिक, जय देश’ भन्दै श्रमिकहरूप्रति सम्मान व्यक्त गरेका छन् ।