ट्रकको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मकवानपुर प्रहरीका अनुसार शुक्रबार बिहान करिब ५ः१५ बजे हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७७१२ नम्बरको ट्रकले बाटो क्रस गर्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा राक्सिराङ गाउँपालिका–९ घर भई हाल मनहरी गाउँपालिका–८ मा बसोबास गर्दै आएका करिब ७० वर्षीय गंगा बहादुर स्याङतानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । ट्रक चालक सर्लाहीको हरिवन नगरपालिका–११ निवासी ४० वर्षीय प्रमोद महत्तोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि ट्राफिक प्रहरीको प्रयासमा यातायात पुनः सञ्चालनमा आएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी श्यामु अर्यालले जानकारी दिए ।