श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्छ : पूर्व राष्ट्रपति भण्डारी


०९:४४ बजे

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले देशको सामाजिक, आर्थिक र भौतिक विकासमा श्रमिक वर्गको योगदान महत्वपूर्ण रहेको बताएकी छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण नेपाली श्रमिक दिदीबहिनी तथा दाजुभाइप्रति शुभकामना व्यक्त गर्दै उनले एक्समा अधिकांश नेपाली श्रमिक अनौपचारिक क्षेत्रमा रहेका, उनीहरुको न्यूनतम तलब, सामाजिक सुरक्षा र सुरक्षित कार्यस्थललगायत अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन् ।  

‘विदेशमा कार्यरत श्रमिकहरूको योगदान  अर्थतन्त्रको मेरुदण्ड भए पनि उहाँहरू शोषण र जोखिममा हुनुहुन्छ। बेरोजगारी र युवाशक्ति विदेश पलायन चिन्ताको विषय बनेको छ भने महिला र घरेलु श्रमिकहरू अझै पनि उपेक्षित छन्’, उनले लेखेकी छन्।  श्रमिक अधिकारको संरक्षण, श्रम कानुनको कार्यान्वयनका साथै मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनिश्चित गर्न सरकार, रोजगारदाता र ट्रेड युनियनहरूले समन्वयात्मक प्रयास गर्नुपर्ने पूर्वराष्ट्रपति भण्डारीले बताएकी छन् । यसै अवसरमा दिएको शुभकामना सन्देशमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको समृद्धिका लागि श्रमजीवी मजदुर वर्गको हक हित अधिकारको सुनिश्चित गर्नुपर्ने बताएका छन् । 

सन्देशमा राष्ट्रको समग्र सामाजिक, आर्थिक उन्नतिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका  श्रमिकको हकहितका लागि सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिइएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि सम्पूर्ण श्रमिक वर्गमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । यसैगरी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानप्रदत श्रमिकको हकअधिकारको रक्षा, सामाजिक सुरक्षा, समता र न्यायपूर्ण समाज निर्माण अपरिहार्य भएको बताएका छन् । उनले श्रमिक वर्गको निरन्तर मिहिनेत, लगनशीलता र समर्पणबाट उत्पादनशीलता वृद्धि भई राष्ट्रको समृद्धि सुनिश्चित हुने शुभकामना सन्देशमा उल्लेख गरेका छन्  । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्पूर्ण श्रमिकमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्दै श्रमिकका अधिकारको रक्षा तथा उनीहरूको सुरक्षाका निम्ति प्रदेश सरकार तत्पर रहेको बताएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७