प्रिन्टिङ प्रेस खरिद प्रकरण : विकल पौडेल दोषी ठहर, दुई वर्ष कैद र जरिवाना


२२:५६ बजे

काठमाडौं । सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदमा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा विकल पौडेल दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले आइतबार पौडेलसहित म्याक्स इन्टरनेशनल प्रालि र सो कम्पनीका सिइओ अकबर हुसेनलाई भ्रष्टाचारी ठहर गरेको हो ।

विशेषले अख्तियारको दावीबमोजिम ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ । यो रकम दामासाहीले तीन प्रतिवादीबाट असुल्ने फैसला गरेको छ । जसमा विकल पौडेल, म्याक्स इन्टरनेसनल प्रालि र यसका सञ्चालक अकबर हुसेनलाई जनही १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना गरी प्रतिवादीबाट असुलउपर गर्नुपर्ने फैसला गरेको छ ।

अपराधपीडित संरक्षण ऐनबमोजिम तीनै प्रतिवादीसँग जनही ५४ करोड ३४ लाख १०३ रुपैयाँ क्षतिपूर्ति शुल्कबापत पीडित राहत कोषमा दाखिला गर्न पनि अदालतले भनेको छ । पौडेलविरुद्ध दुई कसुरमा गरी दुई वर्ष कैदको सजाय ठहर भएको छ भने अकबर हुसेनलाई डेढ वर्ष कैद ठहर भएको छ । 

अन्य प्रतिवादीहरु सफल श्रेष्ठ, नवीन कुमार पोखरेल, हरिवल्लभ घिमिरे र खड्क बहादुर थापालाई भने विशेषले सफाइ दिएको छ । उनीहरु खरिद प्रक्रियामा संलग्न देखिए पनि खरिद कार्यमा कुनै निर्णायक भूमिका नदेखिएको फैसलामा उल्लेख छ । सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष ३० वैशाखमा पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७