‘कोरिया कमाएको धन र सीप गाउँमा भैसीपालनमा’


१६:४९ बजे
फाइल फोटो

स्याङ्जा । दक्षिण कोरियामा १० वर्ष बिताएका स्याङ्जा चापकोटका दुई दाजुभाइले गाउँ फर्केर कृषिउद्यम सुरु गरेका छन् । यहाँका उत्तम आचार्य र वीरेन्द्र आचार्यले विदेशमा कमाएको धन आफ्नै गाउँमा भैंसीपालनमा खर्चिएका छन् । 

विसं २०७३ देखि सुरु गरेको सिद्धबाबा एग्रो फार्म एन्ड रिसर्च सेन्टर प्रालि हाल गण्डकी प्रदेशमै ठूलोमध्येको एक भैँसी फार्मको पहिचान बनाएको छ । दश वर्ष कोरियामा सिकेको सीप र कमाएको पैसा लगानी गरेको उक्त फर्ममा ६७ वटा गुजराती र मुर्रा जातका भैँसीहरू छन् । हाल फर्मबाट दैनिक १८५ देखि २०० लिटरसम्म दूध उत्पादन भइरहेको छ । यसका साथै गोबर र मूत्रलाई जैविक मलका रूपमा बिक्री गरेर आम्दानी भइरहेको छ । 

आचार्य दाजुभाइ कोरियामा रहँदा सिकेको आधुनिक पशुपालन प्रविधिलाई नेपालमै प्रयोग गरिरहेको बताउँछन् । कोरियाबाट फर्किएपछि सुरुमा काठमाडौँमा होटल व्यवसायमा लागे पनि पछि गाउँमै आएर हार्डवेयर व्यवसाय र भैँसीपालन सुरु गरेको दाइ उत्तमको भनाइ छ । ‘फार्म सञ्चालनका क्रममा हालसम्म तीन करोडभन्दा बढी लगानी भइसकेको छ । सञ्चालनको सुरुआतमा २५ प्रतिशत विश्व बैङ्क, २५ प्रतिशत नेपाल सरकार र बाँकी ५० प्रतिशत लगानी आफैले गरेका थियौं’, उनीहरूले भने, ‘फार्ममा प्रत्यक्ष रूपमा १० जनाले रोजगारी पाएका छन्भने अप्रत्यक्ष रूपमा थप धेरैलाई कामको अवसर सिर्जना भएको छ ।’

भाइ वीरेन्द्र फार्ममा दिनहुँ आफै खट्ने गरेको बताउँछन् । बिहानै फार्ममा पुगेर दूध प्याक गर्ने, क्यानमा राख्ने, होम डेलिभरी गर्ने र बिक्री नभएको दूधबाट पनिर उत्पादन गर्ने काम दिनहुँ भइरहेको उनको भनाइ छ । अब हरेक युवाले आफ्नै देशमा भविष्य खोज्नुपर्छ भनेर आफूहरू यस कार्यमा लागेको आचार्यले बताए । ‘कुनै समय कोरियामा राम्रो जीवन बिताएका थियौँ । विदेश गएर अनुभव हासिल गर्नु राम्रो हो तर उतै बसेर हुँदैन । आफ्नो देश र माटो आफ्नै हुन्छ। त्यसैले विदेशबाट फर्किएर हामीले आफ्नै गाउँठाउँमा लगानी गर्‍यो । कृषि क्षेत्रमा लगानी गर्न सके देशमै राम्रो गर्न सकिन्छ’, आचार्य दाजुभाइले एकैस्वरमा भने । 

हाल यस कार्यबाट चापाकोटका धेरै युवाहरू कृषिप्रति आकर्षित भइरहेका छन् । स्थानीय निकाय र राज्यले कृषिउद्यमलाई सम्मानित तथा प्रोत्साहन बनाउन सहयोग गरे धेरैले यसैमा भविष्य खोज्ने उनीहरूको विश्वास छ । ‘देशमै भविष्य खोजेका कृषकलाई राज्यबाट पर्याप्त सुविधा नभएको महसुस हुन्छ । कहिलेकाहीँ भैँसीलाई मिल्क फिभर जस्ता रोग लाग्छन्, भैँसीको बिमा र स्वास्थ्य उपचार निःशुल्क  छैन ।  अन्य धेरै पालिकाहरूमा प्रतिलिटर दूधमा रु दुईदेखि १५ सम्म अनुदान दिइए पनि चापाकोट नगरपालिकाले कुनै अनुदान दिएको छैन । यसबारे सोच्नुपर्छ’, सञ्चालक आचार्य दाजुभाइले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७