कुलमानको बर्खास्तीपछि बत्ती जान थाल्यो भन्ने जनताको व्यापक असन्तुष्टि सुनियो : सांसद किराती

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले अघोषित लोडसेडिङ हुन थालेको गुनासो जनस्तरबाटै आउन थालेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधिसभा बैठकमा उनले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि बिजुली जान थालेको व्यापक जनगुनासो आएको बताए ।
‘भर्खरै पूर्वी नेपालको विभिन्न भागमा म पुगेर आएको थिएँ । अधिकांश स्थानमा बत्ती गएको देखियो । कुलमानको बर्खास्तीपछि बत्ती जान थाल्यो भनेर जनताको व्यापक असन्तुष्टि पनि सुनियो’, उनले भने, ‘के यो अघोषित लोडसेडिङ हो ? या कमजोर व्यवस्थापनको परिणाम हो ?’
उनले घिसिङ हुँदा नाफामा गएको कम्पनी हितेन्द्रदेव शाक्य आएपछि कसरी घाटामा गयो भनेर पनि प्रश्न गरेका छन् । ‘कुलमान हुँदा नाफामा गएको प्राधिकरण नयाँ एमडीद्वारा प्रस्तुत श्वेतपत्रअनुसार एकाएक संकटग्रस्त देखियो, यसबाट हामीले के बुझ्ने ?’, उनी भन्छन्, ‘प्राधिकरणलाई पनि कौडीको भाउमा बेच्ने प्रपञ्चको पूर्व तयारी हो ?’