‘फुटबल खेलले नेपाली समाजमा एकताको सन्देश फैलाइरहेको छ’


२०८२ जेठ ३ शनिबार ०१:४२ बजे

सुनसरी । नेपाल कांग्रेसका नेता एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले फुटबल खेलले नेपाली समाजमा आशा, उत्साह र एकताको सन्देश फैलाउँदै राष्ट्रिय विकासमा उल्लेखनीय योगदान पुर्‍याइरहेको बताएका छन् । 

आज सुनसरीमा पार्टी कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले धरान फुटबलको सहरका रूपमा पनि परिचित रहेको भन्दै हाल यहाँ विभिन्न तहका फुटबल प्रतियोगिताहरू सञ्चालन भइरहेकामा खुसी व्यक्त गरे ।  यहाँको सक्रियता र फुटबलप्रतिको जनस्तरको आकर्षणलाई मध्यनजर गर्दै सरकारले धरानमा सञ्चालन भइरहेको फुटबल एकेडेमी तथा आगामी लिगहरूमा थप बजेट वृद्धि गर्ने उनले प्रतिबद्धता व्यक्त गरे। 

खेलकुदमन्त्री चौधरीले भने, ‘धरानमा भइरहेका फुटबल गतिविधि देशका लागि अनुकरणीय छन् । जहाँ बुढासुब्बा गोल्डकपदेखि विभिन्न फुटबल लिग सञ्चालन हुने गरेका छन् । विगतदेखि नै हामीले अपेक्षा गरिएको भन्दा बढी बजेट विनियोजन गरेर सहयोग गरिरहेका छौँ । आगामी वर्षहरूमा यसलाई थप सुदृढ र व्यवस्थित बनाउन सहयोग गर्नेछौँ ।’

मन्त्री चौधरीले एकेडेमीको पूर्वाधार, तालिम तथा प्रतियोगिता सञ्चालनका लागि मात्र बजेट नभएर प्राविधिक सहयोग र आवश्यक स्रोतसाधनको व्यवस्थापनमा पनि मन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले संघीय सरकारअन्तर्गत रहेका १० वटा रङ्गशाला प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको पनि जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७