‘सगरमाथा विश्वको गौरव हो’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा संसारको गौरव भएको बताएका छन् । अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा वसन्तपुरमा आयोजित आज बिहान आयोजित एक कार्यक्रममा उनले सगरमाथाको संरक्षण र प्रवद्र्धनमा चेतना अभिवृद्धि गर्दै विश्वभरका पर्यटकलाई नेपालप्रति आकर्षण गर्न सरोकार भएका सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।
पर्यटनमन्त्री पाण्डेले भने, ‘सगरमाथा हाम्रो पहिचान र गौरव हो, यसप्रति विश्वले पनि गौरव गरेको छ । पृथ्वीको सबैभन्दा उच्च शिखर सगरमाथामार्फत देशको पहिचान स्थापित गर्न सफलतापूर्वक सगरमाथा संवाद आयोजना गरेर विश्व समुदायलाई सगरमाथाको देशले जलवायु परिवर्तनका कारण झेलेका समस्याबारे अवगत गरायौँ । सगरमाथाको हिउँ पग्लिँदा नेपाल र हिमवत् खण्डलाई मात्र होइन समग्र पृथ्वीलाई नै असर गर्छ । यो नेपालको मात्र समस्या होइन भन्ने संवाद उपयोगी रह्यो ।’
सगरमाथा दिवसका अवसरमा पर्यटकको अधिक चहलपहल हुने ठमलेमा प्रभातफेरी आयोजना गरिएको थियो । त्यसमा पर्यटनमन्त्री पाण्डे, निमित्त पर्यटन सचिव इन्दु घिमिरे, पर्यटन विभागका महानिर्देशक नारायण रेग्मी , नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी तथा पर्यटन व्यवसायी, पर्यटनसँग सम्बन्धित संगठनका प्रतिनिधि, सरकारकी कर्मचारी, सुरक्षा निकायलगायत सर्वसाधरण सहभागी थिए ।
त्यसअघि नेपाल पर्यटन बोर्ड परिसरमा रहेको तेञ्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको पूर्णकदको सालिकमा माल्यार्पण गरिएको थियो । सन् १९५३ मे २९ मा नेपाली शेर्पा र हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको स्मरणमा हरेक वर्ष यो दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइन्छ ।