यातायात व्यवसायीलाई वार्तामा आउन गण्डकी सरकारको आह्वान

गण्डकी । गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पुनः आह्वान गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आज पत्रकार सम्मेलनमार्फत यातायात व्यवसायीका मागका सन्दर्भमा वार्तामा आउन आह्वान गरेको हो । ‘राइड शेयरिङ’ लाई वैधानिकता दिएको विरोधमा सार्वजनिक यातायात बन्द गरेका यातायात व्यवसायीलाई यसअघि बुधबार वार्तामा बोलाइएकामा आएका थिएनन्। मन्त्रालयका अनुसार, यातायात व्यवसायीसँग छलफलका लागि यातायात मन्त्रालयका सचिवको संयोजकत्वमा अधिकार सम्पन्न पाँच सदस्यीय वार्ता टोली गठन गरिएको छ।
प्रदेश सचिव एवं वार्ता समिति संयोजक इन्जिनियर कमलकुमार अधिकारीले प्रदेश सरकारले जारी गरेको कानुनका सम्बन्धमा खुला छलफल गर्न प्रदेश सरकार तयार रहेको बताए। यसअघि, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र एकीकृत ट्रेड युनियन महासंघ गण्डकीलगायतका आठ संगठनले संयुक्तरूपमा पत्रकार सम्मेलन गरी १७ बुँदे मागपत्र सार्वजनिक गरेका छन्।
उनीहरूका मागमा निजी सवारीसाधनलाई सार्वजनिक सवारी साधनसरह यात्रु ओसारपसार गर्न दिने व्यवस्था खारेज गर्नुपर्ने, सार्वजनिक सवारीसाधनको आयु सीमा हटाउनु पर्ने, राइड शेयरिङ सेवालाई कानुनी मान्यता दिन नहुनेलगायत विषय छन्। सावर्जनिक यातायात बन्दका कारण जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा सर्वसाधारण समस्यामा परेका छन्। रासस