संसदअघि प्रचण्ड कार्यकक्षमा विपक्षी दलको बैठक

काठमाडौं । प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न विपक्षी दलको बैठक बसिरहेको छ। प्रतिनिधि सभा बैठक बस्नुअघि मंगलबार प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्षमा विपक्षी दलको बैठक बसेको हो।
बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरोध गरेका विपक्षी दलले जेठ १५ गते बजेट ल्याउन संसद्को अवरोध हटाएका थिए। संघीय संसद्मा बजेट पेस गर्न दिए पनि अन्य कामकारबाही चल्न नदिने अडान प्रतिपक्षीका यथावत छन्।
संसद्मा गृहमन्त्रीलाई बोल्न दिने-नदिने भन्ने विषयमा विपक्षी दलमा मतभेद सिर्जना भएको छ । संसद्को अवरोध हटाउन सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच सोमबार साँझ भएको छलफल निष्कर्षविहीन भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी माओवादीका अध्यक्ष पुष्पकमल प्रचण्डबीच सोमबार साँझ सिंहदरबारमा छलफल भए पनि सहमति हुन नसकेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जाने नेपालीबाट असुल हुने गरेको प्रकरणमा गृहमन्त्री लेखकको सचिवालयका कर्मचारी संलग्न रहेको आरोप विपक्षी दलको छ। उक्त आधारमा गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने र त्यसका लागि उनले राजीनामा दिनुपर्ने माग राखी विपक्षीहरूले संसद् अवरोध गर्दै आएका छन्।