अन्नपूर्ण ‘ट्रेल रेस’ को उपाधि घराम्दीका कुशललाई


०५:३५ बजे

म्याग्दी । अन्नपूर्ण हिमाल आरोहण भएको ७५औं वार्षिकोत्सवका अवसरमा आज म्याग्दीमा भएको अन्नपूर्ण ‘ट्रेल रेड’ दौड प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुर्जाले जितेका छन् ।

चार हजार ९१ मिटर उचाइको अन्नपूर्ण आधार शिविरदेखि अन्नपूर्ण–४ नारच्याङ गाउँसम्म मौरिस हर्जोग पदमार्गमा भएको प्रतियोगितामा दुई घण्टा ४७ मिनेट ३७ सेकेण्डमा ३६ किलोमिटर दूरी पार गरेर पुर्जा विजयी भएका हुन् ।अन्नपूर्ण–६ घारका लोकबहादुर बरुवालले दुुई घण्टा ५२ मिनेट ५१ सेकेण्ड र सञ्जयबहादुर बरुवालले तीन घण्टा आठ मिनेट ३७ सेकेण्डमा निर्धारित दूरी पार गरेर दोस्रो र तेस्रो भएको प्रतियोगिताको व्यस्थापन गरेको भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले जानकारी दिए ।

अन्नपूर्ण आधार शिविरबाट आज बिहान ६.३० बजे सुरु भएको प्रतियोगितामा म्याग्दीका ४० जना धावकहरूको सहभागिता थियो । विजयी २४ वर्षीय पुर्जा भारतीय गोर्खा सैनिक र उपविजेता २४ वर्षीय बरुवाल नेपाली सेनाका जवान हुन् । विजेता, उपविजेता र तेस्रो हुनेलाई आज दिउँसो नारच्याङ बेँसीमा आयोजना हुने समारोहमा प्रमाणपत्रको साथमा क्रमश नगद रु ५० हजार, ३० हजार र २० हजार पुरस्कार प्रदान गरिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।

अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रर्वद्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए । सन् १९५० जुन ३ का दिन फ्रान्सका मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा आज महोत्सव मनाइँदैछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७