रवि लामिछानेले गरे रुपन्देहीबाट कारागार सरुवाको माग

काठमाडौं । सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुानामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले कारागार सरुवाको माग गरेका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएर सरुवा माग गरेपछि अदालतले आवश्यक प्रक्रिया मिलाइ दिन कारागार प्रशासनलाई लेखि पठाएको थियो ।
लामिछानेले काठमाडौँको डिल्लीबजार कारागार सरुवाको माग गरेका छन् । त्यसै अनुसार रुपन्देही कारागार प्रशासनले कारागार व्यवस्थापन विभागमा पत्र पठाइसकेको छ । तर कारागार व्यवस्थापन विभागबाट निर्णय आउन बाँकी रहेको रुपन्देही कारागारका प्रमुख सुरेश भण्डारीले जानकारी दिए ।
विभागबाट निर्णय भएर आए लगतै लामिछानेलाई सरुवा गरिने उनले जनाएका छन् । सुप्रिम सहकारी ठगीको अभियोगमा जिल्ला अदालत रुपन्देहीले सुरुमा एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते जिल्ला अदालतको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेपछि उनी त्यसै दिन पक्राउ परेका थिए ।
तर उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत गएका थिए । सर्वोच्चबाट रिहा हुने आशामा उनले यसअघि रुपन्देही कारागारमै बसेर मुद्दा लडिरहेका थिए । तर सर्वोच्च अदालतले पनि उच्च अदालतकै आदेश सदर गरेपछि अब उनले काठमार्डौँ सरुवा हुन चाहेका हुन् । परिवार र पार्टीभित्रको भेटघाटलाई सहज बनाउन उनी काठमाडौँकै कारागार आउन चाहेको जनाइएको छ । काठमाडौँ र ललितपुरमा तीन वटा कारागार छन् । त्यसमध्ये कम कैदीबन्दी रहेको डिल्लीबजारमा भीआईपी कैदीहरू बढि रहने गरेका छन् । लामिछानेले पनि सोही कारागारमा बस्न चाहेका छन् ।
अब उनले सुप्रिम सहकारी ठगीको अभियोगमा फैसला नभएसम्मका लागि थुनामा बस्नै पर्छ । कारागार बसाई लम्बिने भएपछि उनले सरुवा माग गरेका हुन् । रुपन्देही बाहेकका अदालतबाट भने उनी धरौटीमा रिहा भएका थिए । कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने हालसम्म लामिछानेलाई काठमाडौंमा ल्याउनेबारे निर्णय भइनसकेको बताएका छन् । उनले भने, ‘हालसम्म उहाँ भैरहवामै हुनुहुन्छ, थप निर्णय भएपछि मात्र जानकारी दिउँला ।’