अवरुद्ध कान्ति लोकपथ पूर्ण सञ्चालनमा

काठमाडौं । हेटौंडा र काठमाडौं जोड्ने वैकल्पिक मार्ग, कान्ति लोकपथ आज (आइतबार) देखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सीमानामा पर्ने बगुवा खोलामा बेलिब्रिज जडान कार्य सम्पन्न भएसँगै अवरुद्ध सडक खुलेको हो । प्रहरीका अनुसार, बिहान १०ः४० बजेबाट सवारी साधनका लागि बाटो पूर्ण रूपमा खोलिएको हो ।
बेलिब्रिज जडान सकिएपछि काठमाडौंबाट हेटौंडालगायत तराईका विभिन्न जिल्लामा आवतजावत गर्ने यात्रु तथा मालबाहक सवारी साधनलाई ठूलो राहत मिलेको छ। गएको असोज दोस्रो साता परेको अविरल बर्षाका कारण बागमतीमा ठूलो बाढी आउँदा यहाँको पक्की पुल बगेको थियो। त्यसपछि डाइभर्सन बनाएर सवारी साधन सञ्चानल गरिएको थियो। तर, सानो बाढीले पनि सडक अवरुद्ध हुन थालेपछि यहाँ बेलिब्रिज निर्माण गरिएको हो । बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दरीको वैकल्पिक मार्ग कान्ति लोकपथ विगत केही सातायता पटक–पटक अवरुद्ध हुँदै आएको थियो।
बर्खा सुरु हुनै लाग्दा सवारी सञ्चालनमा समस्या सिर्जना भएपछि कान्ति लोकपथ सडक आयोजनाले यही जेठ २१ देखि २४ जेठसम्म सवारी सञ्चालन पूर्ण रूपमा बन्द गरी बेलिब्रिज जडानको काम अघि बढाइएको थियो । जडान गरिएको बेलिब्रिजको भारबहन क्षमता ३० टन मात्र छ । त्यसैले सडक आयोजनाले मकवानपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर दुवैतर्फ मालबाहक सवारी साधनलाई निगरानी गर्न अनुरोध गरेको छ।