कांग्रेस–माओवादी छलफलमा जुटेन सहमति

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका नेताहरूको छलफल निष्कर्षविहीन बनेको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा माओवादीले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको लागि समर्थन मागेका थिए। कांग्रेसका नेताहरू भने माओवादीको आग्रहमा सहमत नभएको नेताहरूले बताएका छन्। छलफलमा माओवादी अध्यक्ष प्रचण्ड, उपमहासचिवद्वय वर्षमान पुन, शक्ति बस्नेतलगायत सहभागी थिए । कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता ज्ञानेन्द्र कार्की लगायत थिए।
कांग्रेससँग छलफलमा बस्नुअघि माओवादीले विपक्षी दलहरूको बैठक राखेको थियो। त्यसअघि माओवादी अध्यक्ष प्रचण्डले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन्। तर, सत्तापक्ष तयार भएको छैन। यो विषय प्रवेश गरेसँगै यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ। जेठ १५ गते पवपक्षी दलहरूले बजेट ल्याउन प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका थिएनन्। त्यसयता बजेटमाथिको छलफल प्रतिनिधि सभामा हुन सकेको छैन।