सत्ता र विपक्षीसँग सभामुखले गरे छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको गतिरोध खुलाउने विषयमा प्रमुख दलका सचेतक र मुख्य सचेतकसँग आज (आइतबार) पनि छलफल गरिरहेका छन्। अहिले सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सचेतक-मुख्य सचेतकसँग छलफल गरिरहेका हुन्। गृहमन्त्री रमेश लेखकको नाम भिजिट भिसा प्रकरणमा जोडिएको भन्दै उनको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरिरहेका छन्।
जेठ १५ गते बजेट ल्याउने दिन संसदको अवरोध खुलाए पनि त्यसयता लगातार संसद अवरोध भइरहेको छ। संसद अवरोध हुँदा बजेटमाथिको छलफल लगायत अत्यावश्यक विधेयकहरू अगाडि बढाउन समस्या भइरहेको छ। सभामुख देवराज घिमिरेले निरन्तर छलफल गरिरहे पनि सहमति जुट्न सकेको छैन। आज दिउँसो १ बजेका लागि बैठक आह्वान भएको छ। त्यसअघि सहमति जुटाउने प्रयास स्वरूप सभामुख छलफल डाँकेका हुन्।