रास्वपालाई कांग्रेसले भन्यो–भिजिट भिसाबारे संसदीय वा छानबिन समिति बनाउन सकिँदैन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणमा संसदीय वा छानबिन समिति बनाउन नसकिने स्पष्ट पारेको छ। अवरुद्ध संसद खुलाउन विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुसँगको छलफलमा कांग्रेसले यस्तो बताएको हो। यद्दपि सत्तारूढ नेपाली कांग्रेसले सदनमा देखिएको गतिरोध अन्त्य गर्न विभिन्न दलका नेताहरूसँग छलफललाई जारी राखेको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै संसदमा प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गर्दै आएपछि कांग्रेसले प्रतिपक्षी दलहरूसँग संवाद गर्दै आएको छ। रास्वपाले भिजिट भिसा प्रकरणमा जाँचबुझ आयोग वा संसदीय समिति गठन गरेर जानुपर्ने विषय राखेकोमा कांग्रेसले अस्वीकार गरेको हो । रास्वपा प्रमुख सचेतक सन्तोष परियारका अनुसार रास्वपाले जाँबुझ आयोग वा संसदीय समिति गठन गर्नुपर्ने कुरा राखे पनि त्यसमा कांग्रेस तयार नदेखिएको हो । कांग्रेसले यस विषय अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हेरिराखेको भन्दै जाँचबुझ आयोग वा संसदीय समिति गठन गर्न नसकिने बताएको छ।
रास्वपासँग छलफलपछि कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सँग छलफल अघि बढाएको छ। सदनको गतिरोध अन्त्य गर्न कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक श्यामकुमार घिमिरेले पहल गर्दै दलहरूसँग संवाद गरिरहेका छन् ।यता कांग्रेसले सदनको अवरोध खुलाउन गरेको छलफलहरूमा सहभागी नगराएकोमा नेकपा एमाले असन्तुष्टी जनाएको छ । एमालेका एक नेता भन्छन्, ‘कांग्रेस–माओवादी र रास्वपाबीच मात्रै छलफल केन्द्रित भएको देखिन्छ। ‘उहाँहरू बसेर मिलाए भइगो, हामी किन चाहियो।’ एमाले पनि भिजिट भिसा प्रकरणमा कुनै पनि समिति गठन गर्ने पक्षमा छैन। प्रतिनिधि सभा बैठक आज (सोमबार) दिउँसो २ बजेका लागि बोलाइए पनि दलहरूबीच समझदारी नबनेकाले अनिश्चित जस्तो छ।