केपी ओलीलाई प्रभु साहको कटाक्ष : दोहोरो चरित्रले देश बिगार्छ


२०८२ कार्तिक १ शनिबार १९:०५ बजे

काठमाडौँ : आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्कीमाथि देशलाई दिशाहीन गन्तव्यतर्फ लैजान खोजेको आरोप लगाएका छन्।

कोशी प्रदेशमा शनिबार आयोजित पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले फागुन २१ मा तय भएको प्रतिनिधिसभा निर्वाचन गराउने म्यान्डेट लिएर बने पनि त्यस अनुरूप काम नगरेको बताएका हुन् ।

साहले भने, 'सरकार जथाभाबी हात हाल्न थालेको छ, चुनाव गराउने ध्यान छैन। राजदूत फिर्ता बोलाउनेजस्ता निर्णय यत्तिकै भइरहेका छन्, त्यो पनि राजनीतिक पक्षपातका आधारमा।' 

उनले भारतका लागि नेपाली राजदूत फिर्ता नबोलाएपछिको विशेष व्यवहारको कारण प्रधानमन्त्रीसँग खुलाउन माग गरे। 'भारतका लागि राजदूतलाई किन अछुतो बनाइएको ? आरजु राणाको आशीर्वाद भएकोले ?' प्रश्न गरे । 

प्रधानमन्त्रीमाथि दलहरूसँग संवाद नगरेको आरोप लगाउँदै साहले भने, 'दलहरूसँग संवाद नगर्ने प्रधानमन्त्रीले चुनावी वातावरण कसरी बनाउँछ ? बालुवाटारमै संवाद गर्नुहोस्, शीतल निवासमा तमासा देखाउनु ठीक होइन ।' 

साहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि चुनाव भाँड्ने षड्यन्त्रमा लागेको आरोप लगाए । उनले भने, 'ओलीले आफ्नो अपराध ढाकछोप गर्न पार्टीलाई नै दाउमा लगाएका छन् । एउटै समय चुनावमा भाग नलिने घोषणा गर्ने र अर्कोतर्फ निर्वाचन तयारीको बैठकमा सहभागी हुने ? यस्तो दोहोरो चरित्रले देश बिगार्छ।'

उनले प्रधानमन्त्री कार्कीको नियुक्तिमा ओली र काठमाडौँका मेयर बालेन शाहको संलग्नता रहेको भन्दै 'यो सरकार ओलीकै सिफारिसमा बनेको हो, अहिले आएर असंवैधानिक भन्ने नैतिक आधार ओलीसँग छैन' भने।

गृहमन्त्री ओमप्रकाश अर्यालप्रति पनि साहले आक्रोश व्यक्त गर्दै चुनावको म्यान्डेट बिर्सेर राजनीतिक प्रतिशोध र प्रचारबाजीमा लागेको आरोप लगाए। 'गृह मन्त्रालय अदालत होइन, मिडियाबाजी होइन, यो प्रशासन हो - जिम्मेवारीपूर्वक काम गर्नुपर्छ,' उनले भने।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७