एमालेमा विष्णु-शंकर ओलीका ‘रक्षाकवच’
एमालेमा पुनर्गठनको बहस कमजोर
काठमाडौं : नेकपा (एमाले) मा केही समयदेखि चर्किएको पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहस केन्द्रीय कमिटी बैठकमा आइपुग्दा कमजोर हुँदै गएको देखिएको छ। अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने बहसमा अग्रपंक्तिमा देखिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पछिल्लो बैठकमा पार्टी एकता, संगठन सुदृढीकरण र नेतृत्वलाई सहयोग गरेर अघि बढ्ने धारणा राखेपछि बहसको दिशा फेरिएको हो।
बुधबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा तथा सुझाव राखेपछि ओलीले उठेका विषयमा जवाफ दिएका थिए। त्यसपछि प्रतिवेदन सर्वसम्मत पारित भएको हो।
पौडेल–पोखरेलको धारणा फेरिएपछि बहसको दिशा परिवर्तन
एमालेभित्र निर्वाचनपछि पार्टी पुनर्गठनसँगै नेतृत्व हस्तान्तरणको विषयले तीव्रता पाएको थियो। देशभर भएका छलफल तथा भेलाबाट आएका सुझावका आधारमा महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठनको खाकासहित प्रतिवेदन तयार गरेका थिए। त्यसमा पार्टी र नेतृत्व पुनर्गठनको विषयसमेत बहसमा आएको थियो।
तर पार्टी पुनर्गठनसम्बन्धी फरक धारणा समेटिएका दस्तावेजलाई एकीकृत गर्ने क्रममा तत्काल नेतृत्व परिवर्तनको विषयलाई मूल प्रतिवेदनबाट अलग राखेर सुझावका रूपमा अनुसूचीमा राख्ने सहमति बनेको थियो। उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेल पनि यसमा सहमत भएका थिए।
केन्द्रीय कमिटी बैठकमा पनि पौडेल र पोखरेलले अध्यक्ष ओलीसँग टकरावको बाटोभन्दा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने धारणा राखेका छन्। यसले केही समयअघि उठेको ‘नेतृत्व हस्तान्तरण’को बहसलाई तत्कालका लागि पछाडि धकेलेको देखिन्छ।
बैठकको दोस्रो दिन उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका थिए। दुवैले प्रतिवेदनको मूल लाइनप्रति समर्थन जनाउँदै पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
पौडेलले पार्टीभित्रको एकतालाई प्राथमिकता दिनुपर्ने र नेतृत्वलाई सहयोग गर्दै संगठनलाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए। पोखरेलले पनि अध्यक्ष ओलीलाई तत्काल हटाउने दिशामा आफू नरहेको संकेत गर्दै पार्टीभित्रको विवादलाई व्यवस्थापन गरेर अघि बढ्ने धारणा राखेका थिए।
यसअघि भने पौडेल र पोखरेल पक्षबाट पार्टीको नीति तथा नेतृत्व पुनर्गठन आवश्यक रहेको बहस अघि बढेको थियो। त्यसैले उनीहरूको पछिल्लो धारणा एमालेभित्रको शक्ति सन्तुलन र पुनर्गठनसम्बन्धी बहसमा महत्वपूर्ण मानिएको छ।
‘नेतृत्व परिवर्तन’भन्दा संगठन सुदृढीकरणमा जोड
केन्द्रीय कमिटी बैठकमा उठेका धारणा हेर्दा एमालेको तत्कालको बहस नेतृत्व परिवर्तनभन्दा पार्टी संगठनलाई पुनःसुदृढ गर्ने दिशातर्फ केन्द्रित भएको देखिन्छ। अध्यक्ष ओलीले पनि चुनौतीको सामना गर्न पार्टी एकढिक्का भएर अघि बढ्नुपर्ने धारणा राख्दै आएका छन्। पार्टीको आधिकारिक विवरणमा पनि ओलीले संविधान, लोकतन्त्र र लोकतान्त्रिक प्रणालीको रक्षा तथा आगामी कार्यभार पूरा गर्न एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएको उल्लेख छ।
केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष पौडेल, महासचिव पोखरेलसहित रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, लेखराज भट्ट, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेतलगायतले धारणा राखेका थिए।
पुनर्गठनको बहस तत्काल कहाँ पुग्यो?
एमालेभित्र नेतृत्व पुनर्गठनको विषय अहिले पूर्ण रूपमा समाप्त भएको भने देखिँदैन। यसअघि प्रदेश र विभिन्न तहबाट आएका सुझावमा पार्टीको नीति, संगठन र नेतृत्व पुनर्गठनको विषय उठेको थियो। तर केन्द्रीय कमिटी बैठकसम्म आइपुग्दा त्यसलाई तत्काल नेतृत्व परिवर्तनको प्रस्तावका रूपमा अघि नबढाई पार्टी संगठन सुधार र एकतामा जोड दिने दिशामा छलफल अघि बढेको छ।
एमाले केन्द्रीय कमिटीको बैठक बिहीबार दिउँसो १२ः३० बजे भनिमण्डलस्थित रामबाग भवनमा पुनः बस्नेछ। त्यसअघि बिहान १० बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय सचिवालयको बैठक बस्ने तय भएको छ। बैठकमा केन्द्रीय सदस्य मनोनयन, विभाग गठन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च र अनुशासनसम्बन्धी विषयलगायत एजेन्डामा छलफल जारी रहनेछ।
.gif)

.png)


