भारतीय चर्चित गायिका आशा भोसलेको निधन


२०८२ चैत २९ आइतबार १३:४३ बजे

काठमाडौँ : भारतीय चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।

भारतको मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा आइतबार (चैत २९) उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। हृदयाघात भएपछि शनिबार उनलाई अस्पताल भर्ना गरिएको थियो।

पछिल्ला केही महिनादेखि अस्वस्थ रहँदै आएकी भोस्लेलाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो। शनिबार राति सघन उपचार कक्ष (आईसीयू)मा राखिएकी उनको आइतबार दिउँसो निधन भएको हो। उनका छोरा आनन्द भोसलेले निधनको पुष्टि गरेका छन्। अन्त्येष्टि सोमबार गरिने बताइएको छ।

दशकौँसम्म बलिउडको स्वरका रूपमा परिचित भोसले आधुनिक भारतीय सङ्गीतकी प्रभावशाली गायिकामध्ये एक मानिन्थिन्। हिन्दी फिल्म सङ्गीतमा उनको स्थान उनकी दिदी लता मंगेशकरसँग तुलना गरिन्थ्यो।

सन् १९३३ मा जन्मिएकी उनले ९ वर्षको उमेरदेखि व्यावसायिक गायन शुरू गरेकी थिइन्। सन् १९४३ मा पहिलो फिल्म गीत रेकर्ड गरेपछि १९५० को दशकसम्म उनले बलिउडमा छुट्टै पहिचान बनाएकी थिइन्। त्यसपछिका तीन दशकसम्म उनी प्रमुख सङ्गीतकारहरूको रोजाइमा पर्ने गायिका रहिन्।

शुरुआती चरणमा क्याबरे शैलीका गीतमा सीमित भए पनि उनले पछि विविध शैलीमा गाएर आफ्नो गायन दायरा विस्तार गरिन्। विशेषगरी ‘उमराव जान’का गजलहरूले उनको गायनलाई नयाँ उचाइमा पुर्‍याएका थिए।

उनी सात पटक फिल्मफेयर उत्कृष्ट पार्श्वगायिका पुरस्कार विजेता बनेकी थिइन् भने दुई पटक राष्ट्रिय फिल्म पुरस्कार जितेकी थिइन्। ‘दिल चीज़ क्या है’ र ‘मेरा कुछ सामान’ जस्ता गीत उनका चर्चित कृतिमध्ये पर्छन्।

भोसलेले नेपाली गीतहरू पनि गाएकी थिइन्, जसमा धेरै गीत कालजयी मानिन्छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७