‘फेक पोस्ट’ले हैरान सुहाङ नेम्वाङ


२०८३ बैशाख १४ सोमबार ०८:५० बजे

काठमाडौं : नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा सांसद सुहाङ नेम्वाङलाई ‘फेक पोस्ट’ले हैरान पारेको छ । आफ्नो तस्बिर प्रयोग गरेर ‘सुहाङ नेम्वाङ भन्छन्’ भन्दै अनेक पोष्ट भएपछि उनले प्रष्टीकरण नै दिएका छन् । 

पछिल्लो समयमा सरकारको बिषयमा सुहाङले यसो भन्यो जस्ता अनेकन पोष्ट सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । ती पोष्टहरुप्रति लक्षित उनले लेखेका छन्, ‘विगत केही समयदेखि सामाजिक सञ्जालका विभिन्न पेजहरूमा ‘सुहाङ नेम्वाङको भनाइ’ भन्दै मेरो तस्बिर प्रयोग गरी भ्रामक पोस्टर र डिजाइनहरू सम्प्रेषण भइरहेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’ 

नेम्वाङले सार्वजनिक सरोकारका विषय र आफ्ना मान्यताहरूलाई सदैव स्पष्ट रूपमा राख्दै आएको तर सामाजिक सञ्जालमा आफ्नो तस्बिर प्रयोग गरेर राखिएका सामग्री भ्रमपूर्ण रहेको बताएका छन् । भनेका छन्, ‘ती सामग्रीहरूमा व्यक्त विचार मेरो व्यक्तिगत वा राजनीतिक दृष्टिकोणसँग मेल खाँदैनन्। मेरो विचारको प्रतिनिधित्व गर्दैनन् ।’   

उनको स्टाटस जस्ताको तस्तै :-

आदरणीय सञ्चारकर्मी साथीहरू,

नमस्कार !

हजुरहरू सबै सञ्चै हुनुहुन्छ होला ? म पनि ठीक छु।

प्रतिनिधिसभाको बैठक स्थगन पश्चात् हाल म इलामको काम र अभियानतिर केन्द्रीत छु । हजुरहरूलाई अवगत नै छ, मैले सार्वजनिक सरोकारका विषय र आफ्ना मान्यताहरूलाई सदैव स्पष्ट रूपमा राख्दै आएको छु।

पछिल्ला विकसित राजनीतिक घटनाक्रमलाई मैले केवल एउटा घटनाको रूपमा मात्र नभई त्यसले निम्त्याउने दीर्घकालीन परिणाम र दिने सकरात्मक वा नकारात्मक नजिताको कसीमा राखेर वस्तुगत विश्लेषण गरिरहेको छु। म कुनै पनि घटना वा बिषयलाई पूर्वनिर्धारित विचार वा आग्रहका आधारमा होइन त्यसबाट आउने दिर्घकालिन परिणामको कसीमा हेर्छु ।

तर, विगत केही समयदेखि सामाजिक सञ्जालका विभिन्न पेजहरूमा ‘सुहाङ नेम्वाङको भनाइ’ भन्दै मेरो तस्बिर प्रयोग गरी भ्रामक पोस्टर र डिजाइनहरू सम्प्रेषण भइरहेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

म हजुरहरुलाई अनुरोध गर्दछु,

– ती सामग्रीहरूमा व्यक्त विचार मेरो व्यक्तिगत वा राजनीतिक दृष्टिकोणसँग मेल खाँदैनन्। मेरो विचारको प्रतिनिधित्व गर्दैनन् ।

– गलत सन्देश प्रवाह हुने गरी सिर्जना गरिएका त्यस्ता अनधिकृत डिजाइनहरू पोस्ट वा शेयर नगरिदिनु हुन म विनम्र अनुरोध गर्दछु।

– जिम्मेवार सञ्चार माध्यम र सचेत नागरिकहरूलाई त्यस्ता भ्रामक पोस्टहरूको आधारमा कुनै पनि धारणा नबनाइदिनु हुन समेत आग्रह गर्दछु।

मलाई थाहा छ, कुनै पनि जिम्मेवार सञ्चार माध्यम र सञ्चारकर्मीहरुबाट यस्तो गैर जिम्मेवार कार्य भएको छैन। तर, अनेकन अनलाइन र फेसबुक पेजहरूबाट भइरहेका यस्ता भ्रमपूर्ण भ्रामक पोस्टहरू भइरहेका छन् । त्यसको आधारमा कुनै पनि धारणा नबनाइदिनु हुन हजुरहरुलाई सादर अनुरोध गर्दछु ।

धन्यवाद ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७