अध्यक्ष ओलीलाई भेट्न पुगेकी पूर्वराष्ट्रपति भण्डारीले उठाइन् नेतृत्व परिवर्तनको प्रसङ्ग
कार्यकर्तामा निराशा छ, अलमल नगर्नु
काठमाडौँ: नेकपा एमालेकी पूर्वउपाध्यक्ष समेत रहिसकेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार लामो राजनीतिक संवाद भएको छ। ओलीको स्वास्थ्य अवस्था बुझ्ने बहानामा भक्तपुरको गुन्डु पुगेकी भण्डारीले एमालेको वर्तमान आन्तरिक संकट र साङ्गठनिक अलमलका विषयमा करिब दुई घण्टा छलफल गरेकी हुन्।
भण्डारी निकट स्रोतका अनुसार, उनले अध्यक्ष ओलीलाई तत्काल निर्वाचन समीक्षा बैठक बोलाउन र कार्यकर्तामा बढ्दै गएको निराशा सम्बोधन गर्न सुझाव दिएकी छन्। प्रतिनिधि सभा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि तल्लो तहका कार्यकर्तादेखि पदाधिकारीसम्मले समीक्षा बैठकको माग गरिरहेको सन्दर्भमा भण्डारीले यस्तो दबाब दिएकी हुन्।
'कार्यकर्तामा निराशा बढ्दै गएको छ, यस्तो अलमलमा धेरै बसिरहनु हुँदैन,' भण्डारीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'पार्टीभित्र तपाईंले नेतृत्व छोड्नुपर्छ भन्ने आवाज पनि उठिरहेको सुनिन्छ, त्यो आफ्नो ठाउँमा छ तर बैठक बोलाउन ढिलाइ नगर्नुस्।'
जवाफमा अध्यक्ष ओलीले भने उपयुक्त समय र सन्दर्भ नमिलेका कारण बैठक बस्न ढिलाइ भइरहेको पुरानै तर्क दोहोर्याएका थिए। २१ फागुनको निर्वाचन यता पूर्वराष्ट्रपति भण्डारीले ओलीसँग गरेको यो चौथो भेट हो। पार्टीभित्र नेतृत्व परिवर्तनको दबाब बढिरहेका बेला भण्डारीले लगातार ओलीलाई भेटेर आन्तरिक राजनीतिका विषयमा चासो राख्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
.gif)

.png)

