हर्क साम्पाङ जस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाए मात्र देशले गति लिन्छ: सुदन किराती


२०८३ जेठ १९ मंगलबार ११:४४ बजे

उदयपुर : श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ जस्तो 'अर्गानिक' नेतालाई देशको प्रधानमन्त्री बनाए मात्र मुलुकले सही गति लिने दाबी गरेका छन्।

उदयपुरको गाईघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता किरातीले अब देशलाई कतैबाट बीजारोपण गरिएको वा हाइब्रिड नेता नभई नेपालकै माटोमा उत्पत्ति भएको नेतृत्व आवश्यक रहेको बताए। उनले भने, 'अब बाह्य प्रभाव वा कृत्रिम रूपमा स्थापित हाइब्रिड नेता होइन, रैथाने माटोको सुगन्ध र वास्तविक धरातल बुझेका हर्क साम्पाङ जस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ।' 

वर्षौँदेखि राजनीतिमा सिन्डिकेट जमाएर बसेको पुराना नेताहरूको पुस्तालाई विस्थापन गर्दै जनताले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा राजनीतिक पुस्तान्तरण गराए पनि त्यसबाट ठोस प्रतिफल आउन नसकेको किरातीको तर्क छ। प्रधानमन्त्री शाहप्रति आम जनताको ठूलो आशा र भरोसा रहेको भए पनि वर्तमान कार्यशैलीका कारण अहिले सर्वसाधारणमा निराशा मात्र छाएको उनले उल्लेख गरे।

'फिल्मी शैलीमा काम गर्ने कोसिस गर्दा आज देश र जनताले गम्भीर धोका पाएका छन्। 'चमेलीको बोलिदिने कोही छैन' भन्दै एकाएक जनलहर पाएर उदाएका बालेनले बिनाकुनै ठोस योजना गरिब र विपन्न नागरिकमाथि नै डोजर चलाए,' किरातीले भने, 'राष्ट्रियता र कूटनीतिका सन्दर्भमा संसद्‌मा उभिएर उनले दिएको अभिव्यक्तिले नेपालको सिङ्गो कूटनीतिक मर्यादालाई नै भताभुङ्ग पारेको छ।'

प्रधानमन्त्री शाहले राष्ट्रियताका सवालमा दिएको उक्त अभिव्यक्ति इतिहासमा कहिल्यै क्षमायोग्य हुन नसक्ने दाबी गर्दै नेता किरातीले देश चलाउन उमेर र अनुहार मात्र नभएर परिपक्व दृष्टिकोण र दुरदर्शिता आवश्यक पर्ने कुरामा जोड दिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७