जसपा नेपालका जिल्ला सचिवसहित १९ जनाले छाडे पार्टी, श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने
भोजपुर। जनता समाजवादी पार्टी (जसपा)नेपाल भोजपुरका जिल्ला सचिवसहित १९ जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन्। उनीहरूले साधारण सदस्यसमेत नरहने गरी पार्टीसँगको राजनीतिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेका हुन्।
पार्टी परित्याग गर्नेमा जसपा नेपाल भोजपुरका जिल्ला सचिव तथा सूचना तथा सञ्चार विभाग सदस्य सन्तोष राई ९इमान०, सह–कोषाध्यक्ष ईश्वरी राई, सदस्यहरू राधा विक, कमला थापा, रविन राई, सिखर राई, सजिव राई, संजय राई, युवराज राई, सुवास राई, निता विक, धनमाया राई, जल्दीप राई, महेन्द्र राई, ज्वाला राई, विश्वविद्या राई, प्रवास समिति जापानकी आकृपा शेर्पा, पर्वत राई र विश्वराज राई रहेका छन्।
उनीहरूले पार्टीभित्र बसेर काम गर्ने वातावरण नरहेको, नेतृत्वसँग वैचारिक मतभेद बढ्दै गएको तथा संगठनभित्र आफ्नो भूमिका क्रमशः कमजोर बन्दै गएको निष्कर्षसहित सामूहिक रूपमा पार्टी छाड्ने निर्णय गरेको स्रोतले जनाएको छ।
जिल्ला तहका पदाधिकारीदेखि सक्रिय कार्यकर्तासम्मको सामूहिक बहिर्गमनले भोजपुरको राजनीतिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ। विशेषगरी जिल्ला सचिवसहित जिम्मेवार नेताहरूको बहिर्गमनले जसपा नेपाल भोजपुर संगठनलाई ठूलो धक्का पुगेको स्थानीय राजनीतिक वृत्तको भनाइ छ।
यसैबीच, पार्टी परित्याग गरेका सन्तोष राई (इमान) सहित १९ जना नेता तथा कार्यकर्ताले आज धरानमा आयोजित एक कार्यक्रममार्फत हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारी गरेको स्रोतले जनाएको छ। यद्यपि, यसबारे औपचारिक घोषणा भने हुन बाँकी रहेको छ।
पार्टी परित्याग गरेका नेताहरूका अनुसार लामो समयसम्म परम्परागत राजनीतिक दलहरूमा योगदान दिँदा पनि देशले अपेक्षाअनुसार विकासको गति लिन नसकेको, नातावाद, कृपावाद र भ्रष्टाचार झन् मौलाउँदै गएको महसुस भएपछि नयाँ राजनीतिक विकल्प रोज्ने निर्णय गरिएको हो। उनीहरूले श्रमको सम्मान, सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको पक्षमा आफूहरू नयाँ यात्रामा अघि बढ्न लागेको बताएका छन्।
.gif)

.png)

