चोलेन्द्र प्रकरणको विवादबीच प्रधानन्यायाधीश र प्रहरी महानिरीक्षकबीच भेटवार्ता
काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनालाई लिएर सर्वोच्च अदालतको फुलकोर्टले आपत्ति जनाएपछि प्रधानन्यायाधीश मनोजकुमार शर्मा र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ।
मंगलबार दिउँसो करिब ४ बजे सर्वोच्च अदालत पुगेका आईजीपी कार्कीले प्रधानन्यायाधीश शर्मासँग उनको कार्यकक्षमा करिब पौने घण्टा छलफल गरेका हुन्।
भेटवार्तामा के विषयमा कुराकानी भयो भन्ने भने खुलेको छैन। प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच भेट भएको सर्वोच्च स्रोतले पुष्टि गरेको छ। तर भेटमा छलफलको विषयबारे भने जानकारी दिएको छैन।
यसअघि प्रहरीले सुरक्षा खतरा रहेको भन्दै पूर्वप्रधानन्यायाधीश जबरालाई रातारात निवासबाट प्रहरी कार्यालय लगेको थियो। सरकारले जबराको सुरक्षामा खतरा देखिएपछि उद्धार गरिएको दाबी गरेको छ।
तर, जबरालाई करिब १० घण्टा नियन्त्रणमा राखिएको विषयमा सर्वोच्च अदालतको फुलकोर्ट बैठकले आपत्ति जनाएको थियो।
सोमबार सर्वोच्चको फुलकोर्टले घटनाबारे विज्ञप्ति जारी गरेपछि भएको आईजीपी–प्रधानन्यायाधीश भेटलाई चोलेन्द्र प्रकरणसँग जोडेर हेरिएको छ। यद्यपि भेटको वास्तविक एजेन्डा भने सार्वजनिक भएको छैन।
.gif)

.png)


