फिफा अध्यक्षलाई तीन पटक फोन, बालोगनको रेड कार्ड हटाउन ट्रम्पको पहल


२०८३ असार २३ मंगलबार ००:१५ बजे

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी फुटबल टोलीका फरवार्ड फोलारिन बालोगनलाई दिइएको रातो कार्ड पुनर्विचार गर्न फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग आग्रह गरेको स्वीकार गरेका छन्।

ट्रम्पले बालोगनलाई रातो कार्ड देखाउने निर्णय अन्यायपूर्ण भएको दाबी गर्दै आफूले फिफामाथि कुनै दबाब नदिएको जिकिर गरेका छन्। ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘मैले रातो कार्ड पुनरावलोकन गर्न आग्रह गरेको मात्र हुँ। मलाई त्यो फाउल जस्तो लागेन।’

बालोगनले गत बुधबार बोस्निया र हर्जगोभिनाविरुद्धको खेलमा रातो कार्ड पाएका थिए। फिफाको अनुशासनसम्बन्धी नियमअनुसार रातो कार्ड पाउने खेलाडीले अर्को खेल स्वतः गुमाउनुपर्ने व्यवस्था छ। सामान्य अवस्थामा यस्तो निर्णयविरुद्ध अपिल गर्न पनि पाइँदैन।

तर, द गार्डियनको रिपोर्टअनुसार ट्रम्पले बुधबारदेखि फिफा अध्यक्ष इन्फान्टिनोलाई लगातार तीन पटक फोन गरेर उक्त निर्णय पुनर्विचार गर्न आग्रह गरेका थिए। त्यसपछि फिफाले बालोगनमाथिको प्रतिबन्ध हटाएको दाबी गरिएको छ।

यस निर्णयप्रति बेल्जियमको टोलीले असन्तुष्टि जनाएको बताइएको छ। साथै आयोजक राष्ट्रका राष्ट्रपतिको सक्रियताले फिफाको निष्पक्षतामाथि समेत प्रश्न उठेको छ।

पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले आफू खेलकुदप्रेमी मात्र नभई राम्रो खेलाडी पनि भएको दाबी गरे। उनले भने, ‘मैले बालोगनको त्यो खेल हेरेँ। म खेलकुदलाई निकै राम्रोसँग बुझ्छु।’

उनले बालोगनको ट्याकललाई दुर्घटना मात्र भएको उल्लेख गर्दै भने, ‘त्यो कुनै फाउल नै थिएन। दुई खेलाडी पूर्ण गतिमा दौडिरहेका बेला आपसमा ठोक्किएका थिए। यदि बालोगनले मुक्का हानेको भए वा जानाजानी गलत गरेको भए मेरो धारणा फरक हुन्थ्यो।’

ट्रम्पले खेलका ब्राजिलियन रेफ्री राफेल क्लाउसको निर्णयमाथि पनि प्रश्न उठाउँदै उनको विगतको रेकर्ड हेर्न पत्रकारहरूलाई सुझाव दिएका थिए। २५ वर्षीय बालोगन हाल विश्वकपमा अमेरिकाका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनी उत्कृष्ट लयमा रहे पनि फिफाले उनको प्रतिबन्ध कुन कानुनी आधारमा हटाएको हो भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक स्पष्टीकरण दिएको छैन।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७