माजिद अन्सारीमाथि कुटपिट गर्ने प्रहरी र ओजस्वी थापाविरुद्ध मानव अधिकार आयोगमा उजुरी
काठमाडौँ : जेनजी मुभमेन्ट अलायन्सले आफ्ना अभियानी माजिद अन्सारीमाथि प्रहरीले गरेको कुटपिट र नियन्त्रणमा लिएको घटनाको विरोध गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा औपचारिक उजुरी दर्ता गराएको छ।
सोमबार आयोगमा दर्ता गरिएको उक्त उजुरीमा नेपाल सरकार, गृह प्रशासन, कीर्तिपुर होल्डिङ सेन्टरमा खटिएको प्रहरी टोली र प्रधानमन्त्री कार्यालय/गृह मन्त्रालयको प्रतिनिधि बताउने ओजस्वी थापालाई विपक्षी बनाइएको छ।
गत शनिबार कीर्तिपुरको होल्डिङ सेन्टरमा खटिएको प्रहरी टोलीले ओजस्वी थापाको प्रत्यक्ष निर्देशनमा अन्सारीलाई कुटपिट गरी नियन्त्रणमा लिएको अलायन्सको गम्भीर आरोप छ। अलायन्सले थापाले त्यस दिन प्रहरीलाई नियन्त्रण र परिचालन गर्न सक्रिय भूमिका खेलेको दाबी गरेको छ।
उजुरीमा नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हकहरूको राज्यका अंग र प्रतिनिधिबाटै चरम उल्लंघन भएको उल्लेख छ। विशेष गरी संविधानको धारा १६ (सम्मानपूर्वक बाँच्न पाउने हक), धारा १७ (स्वतन्त्रताको हक - विचार तथा अभिव्यक्ति र शान्तिपूर्ण भेला हुने स्वतन्त्रता), धारा २० (न्यायसम्बन्धी हक) र धारा २२ (यातना विरुद्धको हक) को ठाडो उल्लंघन भएको अलायन्सको जिकिर छ।
आफ्नो आवाज उठाउने र शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुने क्रममा प्रहरीबाटै दमन हुनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको भन्दै अलायन्सले कडा कारबाहीको माग गरेको छ।
उजुरीसँगै अलायन्सले घटनाको भिडिओ फुटेज, कीर्तिपुर अस्पतालको स्वास्थ्य प्रतिवेदन र हाल उपचार भइरहेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जको मेडिकल रिपोर्ट समेत प्रमाणका रूपमा आयोगमा बुझाएको छ।
हाल अभियानी अन्सारीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। आयोगमा परेको यस उजुरीले घटनाको निष्पक्ष छानबिन र दोषीउपर कारबाही हुने अपेक्षा गरिएको छ।
.gif)

.png)

