कांग्रेससँग ओलीको ‘चालबाजी’ले संकटमा सातै प्रदेश सरकार, अब नेकपा निर्णायक भूमिकामा

नेकपाको निर्णायक भूमिका र नयाँ समीकरणको कसरत


२०८३ असार ३२ बिहीबार ११:४६ बजे

काठमाडौं : काठमाडौं नेकपा (एमाले)  अध्यक्ष केपी शर्मा ओलीको ‘दोहोरो चालबाजी’ र समानान्तर राजनीतिक खेलका मुलुकका सातै प्रदेशमा सरकार धरापमा परेका छन्। नेपाली कांग्रेस र नेकपा (एमाले) बीच प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा सहमति खोजिरहेको भनिए पनि ओलीको अविश्वासिलो भूमिकाले सहकार्यको जग भत्किएको छ।

स्रोतका अनुसार ओलीले कांग्रेस शिर्ष नेताहरुसँग वार्ता जारी राख्दै प्रचण्ड नेतृत्वको नेकपासँगको सम्भावित सहकार्यलाई समेत केन्द्रमा राखेर कांग्रेससँगको वार्तामा पटक पटक अडानहरु परिवर्तन गरेपछि सहमति कमजोर भएको हो । नेपाली कांग्रेस र नेकपा एमालेबीच १७ असार ०८१ मा भएको सातबुँदे सहमति कार्यान्वयनको अन्तिम गृहकार्य भइरहेका बेला ओलीको फेरिँदो राजनीतिक शैली र अडानले सहकार्यको धागो चुँडिएको हो।

प्रदेश सरकारहरूको नेतृत्व आलोपालो गर्ने विषयमा करिब डेढ महिनायता कांग्रेस र एमालेबीच सघन संवाद चलिरहेको थियो। कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र एमाले अध्यक्ष ओलीबीच पटक-पटक वार्ता भएका थिए भने, गएको जेठ ३ गते कांग्रेस सभापति गगन थापा आफैं ओलीको भक्तपुरस्थित निवासमा पुगेर राजनीतिक निकासका लागि लामो छलफल गरेका थिए।

तर, वार्ताका टेबलमा सहमति खोजेजस्तो गर्ने र भित्रभित्रै समानान्तर राजनीतिक समीकरणको तानाबाना बुन्ने ओलीको ‘दोहोरो चालबाजी’ले कांग्रेस नेतृत्वलाई झस्काएको छ। कांग्रेस स्रोतका अनुसार, हरेक संवादमा ओलीले फरक-फरक र अविश्वसनीय अडानहरू राख्ने गरेका थिए। वार्ता चलिरहेकै अवस्थामा कोशी र सुदूरपश्चिममा बजेट असफल बनाउन आफ्ना नेताहरूलाई प्रत्यक्ष निर्देशन दिने र अर्कोतर्फ कांग्रेससँग सहमति वार्ता जारी राख्ने ओलीको भूमिकाले दुई दलबीचको विश्वासको धागो  चुँडिएको छ।

ओलीको यही पटक-पटकको दोहोरो चालबाजीकै कारण प्रदेश सरकारहरूमा तीव्र हलचल सुरु भएको छ। बुधबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् भने कर्णालीमा कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। यससँगै दुई दलबीचको सत्ता सहकार्य सुदूरपश्चिम र कर्णालीबाट औपचारिक रूपमा भत्किन सुरु भएको छ।

नेकपाको निर्णायक भूमिका र अनिश्चित भविष्य

कांग्रेस–एमालेबीचको यो अविश्वासले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई प्रदेश सत्ताको निर्णायक शक्ति (कि-मेकर) बनाएको छ। कांग्रेसले नेकपासँग नयाँ समझदारी बनाएर अघि बढ्ने, नभए प्रतिपक्षमा बस्ने रणनीति लिएको छ भने एमाले पनि नेकपासँग समानान्तर संवादमा छ।

सुदूरपश्चिम र कर्णालीमा देखिएको यो संकटले बागमती, कोशी र लुम्बिनीसहित सातै प्रदेशमा राजनीतिक अस्थिरता निम्त्याएको छ। ओलीको पछिल्लो राजनीतिक अडान र पटक-पटक दोहोरिएको ‘चालबाजी’ले गर्दा प्रदेश सरकारहरूको स्थायित्व अब अनिश्चित बनेको छ।

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७