जितका अनेकौं इतिहास रच्ने एसबीएस गोर्खा कमाण्डो अन्ततः ब्रोड पिकको हिमपहिरोसँग हारे
ब्रोड पिकतर्फ प्रस्थानअघि निम्स दाइको आग्रह : सुरक्षित रूपमा शिखरसम्म पुगेर सकुशल फर्किन पाउने अनुमति मात्र माग्छु ।
काठमाडौं : बेलायतको विशेष सैन्य इकाइ स्पेसल बोट सर्भिस (एसबीएस) बेलायती रोयल नेभीअन्तर्गतको विश्वकै सबैभन्दा गोप्य, कठोर र उच्चस्तरीय विशेष सैन्य बलमध्ये एक हो। यसले समुद्री आतंकवादविरुद्धका अभियान, जलमार्गबाट हुने विशेष सैन्य कारबाही, गुप्त निगरानी तथा उच्च जोखिमयुक्त विशेष अपरेसन सञ्चालन गर्छ।
यही एसबीएसमा सेवा गर्दै जोखिमसँग जुध्न सिकेका नेपाली गोर्खा कमाण्डो निर्मल पुर्जा ‘निम्स दाइ’ ले पछि विश्व पर्वतारोहणमा पनि असम्भवलाई सम्भव बनाउने इतिहास रचे।
सन् १९८३ मा म्याग्दीमा जन्मिएका पुर्जा सामान्य परिवारमा हुर्किएका थिए। हजारौं नेपाली युवाजस्तै उनको सपना पनि ब्रिटिस गोर्खा सैनिक बन्ने थियो। १८ वर्षको उमेरमा, सन् २००३ मा, उनी ब्रिटिस गोर्खामा भर्ती भए। उनले १६ वर्ष सैनिक जीवन बिताए, जसमध्ये ६ वर्ष गोर्खा र १० वर्ष बेलायतको प्रतिष्ठित स्पेसल बोट सर्भिस (एसबीएस) मा सेवा गरे।
एसबीएसबाट अवकाश लिएपछि उनले पर्वतारोहणलाई आफ्नो जीवनको नयाँ अभियान बनाए। छोटो समयमै उनले विश्व पर्वतारोहणमा अनेकौं कीर्तिमान कायम गरे। सन् २०१९ मा विश्वका १४ वटा आठहजारे हिमाल केवल ६ महिना ६ दिन मा आरोहण गरेर उनले विश्व पर्वतारोहणको इतिहास नै परिवर्तन गरिदिए।
तर जीवनभर जोखिमलाई जित्दै आएका यही साहसी नेपाली योद्धा अन्ततः पाकिस्तानको काराकोरम हिमशृङ्खलामा रहेको ब्रोड पिक आरोहणका क्रममा आएको भीषण हिमपहिरोसँग पराजित भए। हिमपहिरोमा परी उनीसहित ६ नेपाली आरोहीको निधन भयो।
निम्स दाइ अक्सिजनको प्रयोग नगरी विश्वका सबै १४ वटा आठहजारे हिमाल दोस्रोपटक आरोहण गर्ने इतिहासकै पहिलो व्यक्ति बन्ने लक्ष्यसहित ब्रोड पिक अभियानमा थिए। यदि यो अभियान सफल भएको भए, त्यसपछि उनको सूचीमा चो ओयु मात्र बाँकी रहने थियो।
आरोहणअघि उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘सुरुमा मेरो योजना केवल जी–टु आरोहण गर्ने मात्र थियो। तर पाकिस्तानतर्फ प्रस्थान गर्नुअघि मैले आफूले आरोहण गरिसकेका आठ हजार मिटरभन्दा अग्ला हिमालहरूको हिसाब गरेँ। यदि यही अवसरमा ब्रोड पिक पनि सफलतापूर्वक आरोहण गर्न सकेँ भने, अब बाँकी रहने एउटै हिमाल हुनेछ—चो ओयु। त्यसपछि म अक्सिजनको प्रयोग नगरी विश्वका सबै १४ वटा आठहजारे हिमाल दुईपटक आरोहण गर्ने इतिहासकै पहिलो व्यक्ति बन्नेछु।’
ब्रोड पिकतर्फ प्रस्थान गर्नुअघि उनले हिमालसँग भावुक आग्रह पनि गरेका थिए। उनले लेखेका थिए, ‘ब्रोड पिक, म तिमीसँग केवल सुरक्षित रूपमा शिखरसम्म पुगेर सकुशल फर्किन पाउने अनुमति मात्र माग्छु। म कुनै पनि हिमाललाई सामान्य ठान्दिनँ। बेसक्याम्पबाट पहिलो पाइला चाल्ने क्षणदेखि नै मेरो सम्पूर्ण समर्पण शतप्रतिशत हुन्छ। सधैं थियो, सधैं रहनेछ।’
उनले सकुशल फर्किन गरेको त्यो अन्तिम प्रार्थना भने पूरा हुन सकेन। तर उनले साहस, समर्पण र असम्भवलाई सम्भव बनाउने जुन इतिहास रचे, त्यो विश्व पर्वतारोहणमा सदैव अमर रहनेछ।
.gif)

.png)

