भारतमा विद्यार्थी आन्दोलन देशभर चर्कियो, दिल्लीमा सुरक्षा व्यवस्था थप कडा
विद्यार्थी आन्दोलनले भारत तरंगित, राजधानीदेखि राज्य–राज्यमा विरोध प्रदर्शन
नयाँ दिल्ली: केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै ककरोच जनता पार्टी (सिजेपी) ले दिल्लीको जन्तर–मन्तरबाट सुरु गरेको विद्यार्थी आन्दोलन बुधबार झन् चर्किएको छ। आन्दोलन अब राजधानी दिल्लीमा मात्र सीमित नरही भारतका विभिन्न राज्यमा फैलिन थालेको छ।
बुधबार बिहानैदेखि हजारौँ प्रदर्शनकारी जन्तर–मन्तरमा भेला भएका छन्। माग पूरा नभए लाखौँ मानिस सडकमा उतार्ने चेतावनी आन्दोलनकारीहरूले दिएका छन्। आन्दोलनको प्रभाव देशभर फैलिन थालेपछि केरल, असम, उत्तर प्रदेशलगायत विभिन्न राज्यमा पनि विपक्षी दल र विद्यार्थी संगठनहरूले प्रदर्शन सुरु गरेका छन्।
बढ्दो आन्दोलनलाई मध्यनजर गर्दै भारतको गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बल (सीआरपीएफ) का थप २० कम्पनी दिल्लीमा परिचालन गरेको छ। संसद् भवन, रफी मार्ग, कनट प्लेस, इन्डिया गेटलगायत संवेदनशील क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ भने व्यापक रूपमा ब्यारिकेड राखिएको छ।
सोमबारको ‘चलो संसद’ मार्चका क्रममा भएको झडप र तोडफोडपछि दिल्ली प्रहरीले ६ वटा एफआईआर दर्ता गरेको छ। प्रहरीका अनुसार प्रदर्शनकारीसँगको झडपमा ११८ जना प्रहरी जवान घाइते भएका छन्। उता आन्दोलनकारीहरूले प्रहरीको लाठीचार्ज र अश्रुग्यास प्रहारबाट दर्जनौँ विद्यार्थी घाइते भएको दाबी गरेका छन्। केही घाइतेको अस्पतालमा उपचार भइरहेको छ।
यसैबीच, प्रधानमन्त्री निवासअगाडि धर्ना दिने क्रममा पक्राउ परेका लोकसभाका विपक्षी नेता राहुल गान्धीले हिरासतबाट भिडियो सन्देश जारी गर्दै गृहमन्त्री अमित शाह र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, आन्दोलनकारी विद्यार्थीमाथिका सबै मुद्दा खारेज, शिक्षा क्षेत्रका समस्याबारे संसद्मा तत्काल बहस तथा विद्यार्थीमाथि भएको दमनका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने पाँचबुँदे माग अघि सारेका छन्।
उता, केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले कांग्रेस र विपक्षी दलहरूले विद्यार्थीलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गरेर संसद्को मनसुन अधिवेशन प्रभावित पार्न खोजेको आरोप लगाएका छन्।
आन्दोलनलाई समर्थन गर्न शिवसेना (यूबीटी) का नेता उद्धव ठाकरे, तृणमूल कांग्रेसकी सांसद महुवा मोइत्रालगायत विपक्षी नेताहरू जन्तर–मन्तर पुगेका छन्। सिजेपीले आन्दोलनमा ऐक्यबद्धता जनाउने सबै दल र नेताहरूलाई धन्यवाद दिएको छ। दिल्लीबाट सुरु भएको आन्दोलन देशव्यापी बन्दै गएपछि आगामी दिनमा भारतको राजनीतिक तनाव अझ बढ्न सक्ने अनुमान गरिएको छ।
.gif)

.png)

