१ अर्ब ९० करोडको हुण्डी कारोबारी पक्राउ
एक अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको हुण्डी कारोबारको आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ ।
काठमाडौं : झण्डै १ अर्ब ९० करोड रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धादिङको सत्यदेवी गाउँपालिका–८ घर भई हाल काठमाडौं महानगरपालिका–नागार्जुन–८ मा बस्दै आएका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा रिजालले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको खुलेको हो।
अनुसन्धानका क्रममा पर्याप्त आधार फेला परेपछि सीआईबीले मंगलबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो। सोही दिन साँझ उनलाई नागार्जुन नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरिएको एसएसपी जबराले जानकारी दिए।
प्रहरीले रिजालमाथि संगठित रूपमा हुण्डी कारोबार गरेको आशंकामा थप अनुसन्धान अघि बढाएको जनाएको छ। साथै यस प्रकरणमा संलग्न अन्य व्यक्तिको पहिचान र अवैध कारोबारको सञ्जालबारे पनि अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।
.gif)

.png)

