चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत, आन्तरिक स्रोतबाट ५६ करोड


२०८३ श्रावण १३ बुधबार १६:११ बजे

काठमाडौं :  चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले उक्त बजेट तथा कार्यक्रम पारित गरेको हो ।

आयोगका अनुसार स्वीकृत कुल बजेटमध्ये नेपाल सरकारबाट विनियोजित रकम ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ रहेको छ भने आयोगको आन्तरिक स्रोतबाट ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ परिचालन गरिनेछ ।

बैठकले आयोगको आन्तरिक स्रोतमा रहेको बचत रकम तथा चालु आर्थिक वर्षमा प्राप्त हुने अनुमानित आम्दानीमध्ये खर्च गर्ने रकमसमेत निर्धारण गरेको छ । आयोगका अनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म आन्तरिक स्रोतमा ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ बचत रहेको थियो । त्यस्तै, चालु आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट थप ३५ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यसरी आयोगको आन्तरिक स्रोतमा उपलब्ध हुने कुल एक अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँमध्ये चालु आर्थिक वर्षका लागि ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय गरिएको हो ।

स्वीकृत बजेटअन्तर्गत आन्तरिक स्रोतबाट चालु खर्चतर्फ ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ ८ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको आयोगले जनाएको छ ।

प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्राडा. देवेन्द्रबहादुर खत्री, आयोगका सदस्य सचिव एवं सहसचिव बसन्तप्रसाद कोइरालालगायतको सहभागिता रहेको थियो ।

बैठकले चिकित्सा शिक्षा क्षेत्रको व्यवस्थापन, नियमन तथा गुणस्तर सुधारसँग सम्बन्धित कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट तथा कार्यक्रम स्वीकृत गरेको आयोगले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७