आईसीयूभित्र अन्तर्वार्ता: प्रेस काउन्सिलले माग्यो अस्पताल र मिडियासँग जानकारी
काठमाडौँ : अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत बिरामीसँग लिइएका अन्तर्वार्ता प्रसारण भएको विषयमा प्रेस काउन्सिल नेपालले सम्बन्धित अस्पताल, सञ्चारकर्मी र मिडियासँग जानकारी मागेको छ।
‘इनसाइड द बंकर’ नामक युट्युब च्यानलबाट प्रसारित सामग्रीप्रति चासो व्यक्त गर्दै काउन्सिलले सम्बन्धित अस्पताल तथा मिडियालाई पत्राचार गरेको हो।
रसुवामा आएको बाढीका क्रममा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट १० दिनपछि उद्धार गरिएका व्यक्तिहरू अस्पतालको आईसीयूमा उपचाररत रहेका बेला लिइएको अन्तर्वार्ता ‘इनसाइड द बंकर’ युट्युब च्यानलबाट प्रसारण गरिएको थियो।
यस्तै, सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका एक पथप्रदर्शकको आईसीयूमा उपचार भइरहेकै अवस्थामा ‘बीबीसी नेपाली’ले अन्तर्वार्ता लिएर प्रसारण गरेको भिडियो सामग्रीप्रति पनि काउन्सिलको ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलले दुवै सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन गरिरहेको जनाएको छ।
आवश्यक अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी, अस्पताल र नेपाल मेडिकल काउन्सिलसँग जानकारी माग्दै पत्राचार गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
.gif)

.png)

