चिकित्सक कुटिएपछि पर्साका एसपी पाठक हटाइए, पर्सामा पवनकुमार भट्टराई पठाइए
काठमाडौं : जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप पाठकको सरुवा भएको छ । पाठकलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको हो ।
पर्साको नयाँ प्रहरी प्रमुखका रूपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवनकुमार भट्टराईलाई पठाइएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको दुर्व्यवहारको घटनापछि चिकित्सकहरूले एसपी पाठक र प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवाको माग गर्दै आन्दोलनसमेत गरेका थिए ।
घटनाबारे छलफल गर्न बसेको चिकित्सकहरूको वार्ता टोलीले एसपी पाठकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरुवाको माग राखेको थियो । सोहीबीच प्रहरी प्रधान कार्यालयले पाठकलाई रानीपोखरी सरुवा गरेको हो ।
यसअघि जिल्ला प्रहरी कार्यालय पाल्पाको नेतृत्व सम्हालेका एसपी भट्टराईलाई जेनजी आन्दोलनपछि काठमाडौं ल्याइएको थियो । सुरक्षा चुनौती बढेको भन्दै उनलाई काठमाडौंमा जिम्मेवारी दिइएको थियो । अपरेसन तथा फिल्ड कमान्डमा अनुभवी प्रहरी अधिकारीका रूपमा भट्टराईलाई चिनिन्छ ।
यता जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी भट्टराईको स्थानमा भने प्रहरी उपरीक्षक दानबहादुर थापालाई पठाइएको छ । थापा हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थिए ।
.gif)

.png)

