मधेश अशान्त : चार जिल्लामा कर्फ्यु
सिरहा, धनुषा, पर्सा र सप्तरीमा कर्फ्यु
जनकपुरधाम : सुनसरीको देवागञ्ज गाउँपालिका–कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद हिंसात्मक बन्दै गएपछि त्यसको प्रभाव मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिएको छ। सुरक्षा अवस्था संवेदनशील बनेपछि मधेशका चार जिल्लामा जारी कर्फ्यु आदेश आज पनि कायम रहने भएको छ।
धार्मिक तथा साम्प्रदायिक तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय सिरहा, धनुषा, पर्सा र सप्तरीले जिल्ला सुरक्षा समितिको सिफारिसमा जारी गरेको कर्फ्यु आदेशलाई निरन्तरता दिएका हुन्।
हिजो सिरहाको गोलबजारबाट सुरु भएको हिंसात्मक घटनाका क्रममा विभिन्न स्थानमा तोडफोड, आगजनी, लुटपाट र झडप भएका छन्।
घटनामा हालसम्म मधेश प्रदेशमा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्। घाइतेमध्ये नेपाल प्रहरीका दुई जना डीएसपीसहित २२ जना प्रहरी रहेको सुरक्षा स्रोतले जनाएको छ।
स्थिति थप जटिल हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना उच्च सतर्कताका साथ परिचालन गरिएको छ। संवेदनशील क्षेत्रमा सुरक्षा गस्ती बढाइएको छ भने स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयहरूले सुरक्षा अवस्थाको निरन्तर समीक्षा भइरहेको जनाउँदै शान्ति–सुरक्षाको अवस्था सामान्य नभएसम्म कर्फ्यु आदेश यथावत् रहने संकेत दिएका छन्।
प्रशासनले अफवाहमा विश्वास नगर्न, सामाजिक सञ्जालमा भ्रामक वा उत्तेजक सामग्री नफैलाउन तथा कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल सुरक्षा निकायलाई जानकारी गराउन सबैसँग अनुरोध गरेको छ।
.gif)

.png)

