चारतारे झन्डा र रुखको छहारी छोडेर ‘शंख’ समाउने तयारीमा कांग्रेसका पाका नेता
‘राष्ट्रिय कांग्रेस’ नाममा नयाँ दल दर्ताको गृहकार्य, शशांकको नेतृत्वमा ५५१ सदस्यीय समिति गठन
काठमाडौं : देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब निर्णायक मोडमा पुगेको छ। लामो समयदेखि संस्थापन पक्षसँग असन्तुष्ट रहेको संस्थापनइतर समूह राष्ट्रिय कार्यकर्ता भेलाको तयारीसँगै समानान्तर राजनीतिक संरचना निर्माणतर्फ अग्रसर भएको छ। स्रोतका अनुसार नेतृत्वसँग सहमति जुट्न नसके नयाँ दल दर्ता गर्ने विकल्पलाई समेत अन्तिम रूप दिने तयारी भइरहेको छ।
उच्च स्रोतका अनुसार विद्रोही पक्षले नयाँ पार्टीको नाम ‘राष्ट्रिय कांग्रेस’ राख्ने र निर्वाचन आयोगमा ‘शंख’ चुनाव चिह्न प्रस्ताव गर्ने विषयमा आन्तरिक गृहकार्य अघि बढाएको छ। यद्यपि, यसबारे औपचारिक निर्णय भने भइसकेको छैन। इतर पक्षका नेताहरूले अन्तिम निर्णय आगामी राष्ट्रिय भेलाबाट हुने बताएका छन्।
इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ। सोही भेलाको तयारीका लागि डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। साथै राजनीतिक प्रस्ताव, संगठन, विधान संशोधन, आर्थिक नीति, प्रचार–प्रसार, व्यवस्थापनलगायत १६ वटा विषयगत समिति पनि बनाइएको छ।
मूल आयोजक समितिमा १४औँ महाधिवेशनबाट निर्वाचित तथा मनोनीत पदाधिकारी र केन्द्रीय सदस्य, पूर्व पदाधिकारी तथा केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापतिहरू, उपत्यकाभित्रका जिल्ला पदाधिकारी तथा महानगर र नगर सभापतिहरूलाई समेटिएको छ। यसलाई इतर समूहले समानान्तर संगठनात्मक शक्ति प्रदर्शनका रूपमा अघि बढाएको विश्लेषण गरिएको छ।
कांग्रेसको इतिहाससँग जोडिएका प्रभावशाली राजनीतिक परिवारका नेताहरू पनि अहिले इतर समूहको अभियानमा सक्रिय देखिएका छन्। पार्टी संस्थापक विश्वेश्वरप्रसाद कोइराला, पूर्वसभापति मातृकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको राजनीतिक विरासत बोकेका डा. शशांक कोइराला र डा. शेखर कोइराला नयाँ राजनीतिक विकल्पको पक्षमा उभिएका छन्।
त्यस्तै गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह तथा महेन्द्र नारायण निधिका राजनीतिक उत्तराधिकारी मानिने विमलेन्द्र निधि पनि संस्थापन नेतृत्वसँग असन्तुष्ट समूहमा सक्रिय छन्।
इतर समूहका नेताहरूका अनुसार वर्तमान नेतृत्वसँग राजनीतिक सहमतिको सम्भावना निकै कमजोर बन्दै गएको छ। पूर्वउपसभापति विमलेन्द्र निधिले नेतृत्वको विषयमा अब अन्योल नरहेको उल्लेख गर्दै नयाँ पार्टी गठन वा संगठनको स्वरूपबारे राष्ट्रिय भेलाले ठोस निर्णय गर्ने बताएका छन्।
नेता केदार कार्कीले पनि नेतृत्वबाट सहमतिको वातावरण नबने पार्टी र लोकतान्त्रिक शक्तिलाई जोगाउन नयाँ राजनीतिक बाटो रोज्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन्।
उता संस्थापन पक्ष भने पार्टी विभाजनको सम्भावनालाई कम आँक्दै संवादमार्फत समाधान खोज्न सकिने दाबी गरिरहेको छ। महामन्त्री गुरुराज घिमिरेले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिइसकेको उल्लेख गर्दै अब सबै पक्षलाई समेटेर १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नु नै पार्टीको प्राथमिकता रहेको बताएका छन्।
नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेस २०१५ सालदेखि ‘चारतारे झन्डा’ र ‘रुख’ चुनाव चिह्नका साथ चुनाव लड्दै आएको छ। त्यसैले यदि इतर समूहले नयाँ दल गठन गर्ने निर्णय गर्यो भने कांग्रेसको इतिहासमै यो सबैभन्दा ठूलो राजनीतिक विभाजनमध्ये एक हुनेछ।
यद्यपि, नयाँ दलको नाम, चुनाव चिह्न र नेतृत्वबारे अन्तिम निर्णय भने आगामी राष्ट्रिय कार्यकर्ता भेलापछि मात्र औपचारिक रूपमा सार्वजनिक हुने अपेक्षा गरिएको छ।
.gif)

.png)

