रुग्ण राष्ट्रिय उद्योगमा सुधारका आशालाग्दा परिणाम
रुग्ण संस्थानलाई पुनर्जीवन दिने प्रयास
काठमाडौं : लामो समयदेखि घाटा, व्यवस्थापकीय कमजोरी र सञ्चालनसम्बन्धी समस्याले थलिएका राष्ट्रिय उद्योग तथा संस्थानमा सुधारका संकेत देखिन थालेका छन्। सरकारले नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान (डिडिसी) र सिंहदरबार वैद्यखाना विकास समितिमा पछिल्लो समय भएका सुधार तथा प्रगतिलाई सार्वजनिक गर्दै रुग्ण सार्वजनिक संस्थानलाई पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने दाबी गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणमा इच्छाशक्ति, इमान्दार प्रयास, कानुनको कार्यान्वयन तथा निरन्तरको सामूहिक प्रयासबाट वर्षौँदेखि समस्याग्रस्त रहेका राष्ट्रिय उद्योग तथा संस्थानमा सुधार सम्भव भएको उल्लेख गरिएको छ।
प्रधानमन्त्री शाहका अनुसार राष्ट्रिय उद्योग तथा संस्थानलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने विषयलाई सरकारले प्राथमिकतामा राख्दै आएको छ। त्यसका लागि सम्बन्धित निकायसँग निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वय गरिएको उनको भनाइ छ।
“जब नियत सफा हुन्छ र जिम्मेवारीप्रति इमान्दारिता देखाइन्छ, तब जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्,” प्रधानमन्त्री शाहले भनेका छन्।
सरकारले सार्वजनिक गरेको विवरणअनुसार नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, डिडिसी र सिंहदरबार वैद्यखानामा फरक–फरक क्षेत्रमा सुधारका काम अघि बढेका छन्।
नेपाल औषधि लिमिटेड नाफामा
वर्षौँसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेड पछिल्लो समय नाफामा जान सफल भएको सरकारले जनाएको छ। कम्पनीले गत आर्थिक वर्षमा करिब ३ करोड रुपैयाँ नाफा कमाएको छ।
पछिल्लो चार महिनामा मात्रै लिमिटेडले २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको जनाएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा वृद्धि भएको सरकारको दाबी छ।
चालु आर्थिक वर्षमा लिमिटेडले ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य राखेको छ।
सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत आगामी तीन वर्षमा लिमिटेडबाट ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ। त्यसअनुसार चालु वर्षमा ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारका औषधिको उत्पादन तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। हाल लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गरिरहेको छ।
हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन
वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीमा पुगेको सरकारले जनाएको छ। उद्योग सञ्चालनका लागि पहिलो चरणमा परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। तान अर्थात् लुम मर्मत गरेपछि परीक्षण उत्पादन सुरु गरिएको र केही परिमाणमा कपडा उत्पादनसमेत थालिएको बताइएको छ।
परीक्षण उत्पादन सफल भएपछि नेपाल सरकारले नै उद्योग सञ्चालन गर्ने योजना बनाएको छ।लामो समयदेखि बन्द उद्योगलाई पुनः सञ्चालनमा ल्याउने प्रयासलाई सरकारले राष्ट्रिय उत्पादन र आत्मनिर्भरतासँग जोडेको छ।
नेपाल वायुसेवा निगमको आम्दानी बढेको दाबी
सरकारले नेपाल वायुसेवा निगमको आर्थिक तथा व्यावसायिक अवस्थामा समेत सुधार आएको जनाएको छ। गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको विवरण सार्वजनिक गरिएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो।
यस अवधिमा नेपाल एयरलाइन्सको सिट उपयोगिता अर्थात् अकुपेन्सी ८६ प्रतिशत पुगेको बताइएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा अकुपेन्सी ६ प्रतिशतले वृद्धि भएको दाबी गरिएको छ।
जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता समेत यही अवधिमा भुक्तानी गरिएको सरकारले जनाएको छ।
निगम लामो समयदेखि ऋण, सञ्चालन खर्च र व्यवस्थापकीय समस्याका कारण आलोचनामा पर्दै आएको छ। पछिल्लो आम्दानी र सिट उपयोगिताको तथ्यांकलाई सरकारले निगम सुधारको संकेतका रूपमा प्रस्तुत गरेको छ।
डिडिसीको बक्यौता ७२ करोडबाट ३५ करोडमा
दुग्ध विकास संस्थानले किसानलाई भुक्तानी गर्न बाँकी रकम घटाएको सरकारले जनाएको छ। यसअघि किसानको दूधको भुक्तानी चक्र करिब आठ महिनासम्म पुग्ने गरेकोमा अहिले दुईदेखि तीन महिनामा झारिएको बताइएको छ।
त्यस्तै, किसानलाई तिर्न बाँकी बक्यौता रकम ७२ करोड रुपैयाँबाट घटाएर ३५ करोड रुपैयाँमा झारिएको छ। सरकारका अनुसार किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ। सुधारका प्रयास सुरु भएपछि डिडिसीको दैनिक बिक्रीमा समेत वृद्धि भएको छ। दैनिक बिक्री ३५ प्रतिशतले बढेको र औसत दैनिक राजस्व सङ्कलन ६० लाखबाट बढेर ९० लाख रुपैयाँ पुगेको विवरणमा उल्लेख छ।
डिडिसीले विगतदेखि कर्मचारीलाई वितरण गर्दै आएको घ्यू तथा दूधको सुविधा पनि कटौती गरेको छ। कानुनविपरीत वितरण हुँदै आएको उक्त सुविधा कटौती गर्दा वार्षिक करिब ३ करोड रुपैयाँ बचत भएको सरकारको दाबी छ।
डिडिसीले आगामी दिनमा आफ्ना उत्पादनको बजार विस्तार गर्ने तयारीसमेत अघि बढाएको छ। खाडी मुलुकमा घ्यू तथा चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी भइरहेको बताइएको छ। त्यस्तै, नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्ने तयारीसमेत भइरहेको छ।
सिंहदरबार वैद्यखानाको कारोबार चार गुणा बढेको दाबी
सिंहदरबार वैद्यखाना विकास समितिमा पनि उत्पादन तथा कारोबारमा उल्लेख्य वृद्धि भएको सरकारले जनाएको छ। सरकार गठन भएपछि वैद्यखानाले ११ करोड १६ लाख रुपैयाँ बराबरका आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरेको विवरण सार्वजनिक गरिएको छ।
गत आर्थिक वर्षमा वैद्यखानाको औषधि कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब चार गुणा बढी भएको दाबी गरिएको छ।
वैद्यखानाले निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ। हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेको र चालु आर्थिक वर्षभित्र त्यसलाई बढाएर १५० प्रकार पुर्याउने लक्ष्य राखिएको छ।
त्यसैगरी, चालु आर्थिक वर्षमा पाउडर तथा ट्याब्लेट औषधि उत्पादनमा ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी) मापदण्ड हासिल गर्ने लक्ष्य लिइएको छ।
जडीबुटी तथा औषधिजन्य कच्चा पदार्थको प्रशोधन केन्द्र स्थापना गर्ने योजना पनि अघि बढाइएको सरकारले जनाएको छ।
रुग्ण संस्थानलाई पुनर्जीवन दिने प्रयास
सरकारले यी पाँचवटा संस्थानमा देखिएको प्रगतिलाई लामो समयदेखि समस्याग्रस्त रहेका अन्य सार्वजनिक उद्योग तथा संस्थानलाई समेत पुनः सञ्चालन गर्न सकिने आधारका रूपमा प्रस्तुत गरेको छ।
सरकारका अनुसार सार्वजनिक संस्थानमा सुधारका लागि केवल बजेट लगानी पर्याप्त हुँदैन। व्यवस्थापनमा सुधार, कानुनको प्रभावकारी कार्यान्वयन, जिम्मेवारीप्रतिको इमान्दारिता र निरन्तर अनुगमन तथा समन्वय आवश्यक हुन्छ।
प्रधानमन्त्री शाहले राष्ट्रिय उद्योग तथा संस्थानलाई उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। रुग्ण अवस्थामा रहेका सार्वजनिक उद्योगलाई पुनः सञ्चालनमा ल्याउने प्रयासलाई सरकारले देशभित्रै उत्पादन बढाउने र आयातमा निर्भरता घटाउने अभियानसँग समेत जोडेको छ।
सरकारले कृषि तथा औद्योगिक उत्पादन बढाएर देशलाई आत्मनिर्भरतातर्फ अघि बढाउने लक्ष्य राखेको जनाएको छ। त्यसका लागि सार्वजनिक संस्थानमा देखिएको सुधारलाई निरन्तरता दिनुपर्ने र लामो समयदेखि बन्द तथा घाटामा रहेका अन्य उद्योगमा पनि सुधारका कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिइएको छ।
सरकारले सार्वजनिक गरेका तथ्यांकअनुसार नेपाल औषधि लिमिटेड नाफामा फर्किनु, हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु हुनु, नेपाल वायुसेवा निगमको आम्दानी र सिट उपयोगिता बढ्नु, डिडिसीको किसान बक्यौता घट्नु तथा सिंहदरबार वैद्यखानाको कारोबार बढ्नु सार्वजनिक संस्थान सुधारका प्रारम्भिक संकेत हुन्।
यद्यपि यी उपलब्धिलाई दीर्घकालीन सुधारमा परिणत गर्न उत्पादनको निरन्तरता, वित्तीय अनुशासन, बजार विस्तार र व्यावसायिक व्यवस्थापनलाई कायम राख्नुपर्ने चुनौती भने कायमै छ।
.gif)

.png)

