बालुवाटारमा बालेनसँग रविको ४५ मिनेट

बालुवाटारमा दोस्रोपल्ट पुगे रवि लामिछाने


२०८३ श्रावण २४ आइतबार २२:४५ बजे

काठमाडौं : सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच बढ्दो संशय र तिक्तताबीच प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र रास्वपा सभापति रवि लामिछानेबीच ४५ मिनेट भेटवार्ता भएको छ।

प्रधानमन्त्री बालेनलाई भेट्न लामिछाने आइतबार साँझ बालुवाटार पुगेका थिए। स्रोतका अनुसार भेटमा पछिल्लो राजनीतिक परिस्थिति, सरकारका आगामी कदम, राजनीतिक नियुक्ति तथा पार्टीका अपेक्षालगायत विषयमा छलफल भएको थियो।

बालेनले पछिल्लो समय सामाजिक सञ्जालमा आफू विभिन्न चुनौतीसँग एक्लै लड्नुपरेको आशयको अभिव्यक्ति दिएपछि रास्वपा नेतृत्व असन्तुष्ट रहेको बताइन्छ। भेटमा त्यसबारे पनि कुराकानी भएको स्रोतको भनाइ छ।

त्यस्तै, प्रधानमन्त्री बालेनको प्रस्तावित भारत भ्रमण र लामिछानेको आगामी चीन भ्रमणका विषयमा पनि छलफल भएको बताइएको छ। राजदूत छनोट, उच्च तहका सम्भावित नियुक्ति तथा मन्त्रीहरूको भूमिकालगायत विषयमा समेत दुई नेताबीच कुराकानी भएको स्रोतले जनाएको छ।

दुई नेताबीच सम्बन्धमा गम्भीर दरार उत्पन्न भएको भन्ने चर्चालाई बालुवाटार स्रोतले अस्वीकार गरेको छ। ‘दुई नेताबीच एकदमै दरार उत्पन्न भएजस्तो गरेर बुझिएको छ, त्यस्तो केही होइन। यसलाई नियमित छलफल मान्न सकिन्छ,’ स्रोतले भन्यो।

लामिछाने पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई समेत साथमा लिएर बालुवाटार पुगेको चर्चा भए पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। बालेन प्रधानमन्त्री बनेपछि लामिछाने दोस्रोपटक बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री बालेनले बालुवाटारमा अनौपचारिक जमघट र पारिवारिक भेटघाटबाहेक अन्य भेटवार्ता कमै गर्ने गरेको बताइन्छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७