गुण्डुमा अपमानित भएर थपलिया बेहोस भएपछि ओलीले भने: यो मर्ने भयो, यहाँबाट उठाइहाल
थपलिया बेहोस भएपछि ओलीले आक्रोश पोख्दै भने, ‘सामान्य छलफलको दबाब त सहन नसकेर ढल्याे, कसरी नेतृत्व गर्छ ?’
काठमाडौं : नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित निवास गुण्डुमा भएको छलफलका क्रममा बेहोस भएर ढलेका छन्। बागमती प्रदेश सरकार गठनबारे छलफल गर्न सोमबार राति बोलाइएको बैठकमा चर्को आलोचना र अपमान सहनुपरेपछि उनी बेहोस भएको बैठकमा सहभागी एक नेताले बताए ।
यसअघि गत शुक्रबार एमालेको बागमती प्रदेश कमिटी र संसदीय दलसँगको सामूहिक छलफलमा संसदीय दलका नेतालाई नै मुख्यमन्त्री बनाउन ओली सहमत भएका थिए। एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको अडानमा बागमती, लुम्बिनी र कोशी गरी तीनवटै प्रदेशमा सम्बन्धित संसदीय दलका नेतालाई नै मुख्यमन्त्री बनाउने विषयमा ओली सहमत देखिएका थिए।
तर, ओलीले बागमतीमा भक्तपुर क्षेत्र नम्बर २ को (क) बाट २०७९ को निर्वाचन जितेका किरण थापामगरलाई मुख्यमन्त्री बनाउन चाहेको बताइन्छ। शुक्रबारको सहमतिविपरीत सोमबार सचिव महेश बस्नेतको पहलमा अर्को बैठक बोलाइएको थियो। गुण्डुस्थित निवासमा भएको उक्त बैठकमा बागमती प्रदेशका २५ मध्ये १७ जना सांसदहरू भेला भएका थिए। तीमध्ये १४ जनाले गत साता नै किरण थापालाई मुख्यमन्त्री बनाउने पक्षमा हस्ताक्षरसमेत गरिसकेका थिए।
बैठकमा सहभागी नेताहरूका अनुसार बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउने प्रयासस्वरूप अध्यक्ष ओलीले सोमबार साँझ ७ बजे प्रदेश सांसदहरूलाई गुण्डु बोलाएका थिए। सो बैठकमा सहभागी केही सांसदहरूले थपलियाले सरकार गठन प्रक्रिया अघि बढाउन नसकेको, संसदीय दललाई प्रभावकारी रूपमा सञ्चालन गर्न असफल भएको भन्दै कडा आलोचना गरेका थिए।
बैठकमा उपस्थित सांसदहरूले नेता थपलियाको तीव्र आलोचना गरेका थिए। सांसदहरूको तीखो आलोचनापछि अध्यक्ष ओलीले समेत थपलियालाई लक्षित गर्दै अपमानित र आरोपित गर्ने गरी निरन्तर बोलेका थिए।
अध्यक्ष ओलीबाटै असन्तुष्टि र कडा आरोप आएपछि थपलियाले आफ्नो बचाउ गर्दै प्रतिवाद गरेका थिए। छलफलमा सहभागी एक सांसदका अनुसार लामो समयदेखि ओलीनिकट रहेका थपलियाले आफूमाथि अन्याय भएको महसुस गर्दै भावनात्मक रूपमा प्रतिक्रिया दिएका थिए।
बैठकमा सहभागी एक नेताले भने, ‘पार्टी अध्यक्षले समेत अपमानित र आरोपित गर्ने गरी बोलेपछि उहाँ भावुक हुनुभयो। ५० वर्षभन्दा बढी समय पार्टीमा योगदान दिएको मान्छे आज म कसरी अयोग्य भएँ ? भन्दै प्रश्न गर्दागर्दै बेहोस भएर ढल्नुभयो। असिजलो मान्नुभयो ।’
ती नेताका अनुसार भावुक भएर बोल्दा असहज भएर थपलिया सम्हालिएर बाहिर निस्किन खोज्दै गर्दा अचानक बेहोस भएर ढलेपछि बैठकको वातावरण थप असहज बनेको थियो। जीवनभर पार्टीमा योगदान दिएका नेतामाथि गरिएको यस्तो व्यवहारले बैठकमा सहभागी धेरै नेताहरूलाई असन्तुष्ट बनाएको एक नेताले बताए।
घटनास्थलमा उपस्थित एक नेताका अनुसार, जेएन (जगन्नाथ थपलिया) ढलेको देखेपछि अध्यक्ष ओली झन् आक्रोशित भएका थिए। थपलिया ढलेको देखेपछि ओलीले आक्रोशित हुँदै भनेका थिए, ‘सामान्य छलफल त सहन नसक्नेले के प्रदेशको दबाब थेग्न सक्छ? कसरी प्रदेश सरकार चलाउन सक्छ? यो मर्ने भयो, यसलाई यहाँबाट उठाऊ।’
एक नेताका अनुसार थपलिया ढलेपछि अध्यक्ष ओलीले उनीबाट प्रदेश सरकारको नेतृत्व सम्भव नभएको तर्क गरेका थिए। थपलिया बेहोस भएपछि ओलीले आक्रोश पोख्दै भनेका थिए, ‘सामान्य छलफलको दबाब त सहन नसकेर ढल्याे, यसले कसरी नेतृत्व गर्छ ?’
बैठकमा नयाँ नेतृत्व र सरकार गठनको विकल्पबारे प्रष्ट पार्दै ओलीले थपेका थिए, ‘राप्रपाको समर्थन भोलिसम्म जसले ल्याउँछ, उसैले नेतृत्व गर्ने हो।’
.gif)

.png)

