अमरेश सिंहको प्रश्न, ‘मधेसमा आन्दोलन हुँदा लाठीचार्ज होइन, सिधै गोली किन चल्छ ?’


२०८३ श्रावण १९ मंगलबार १४:५९ बजे

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मधेसमा हुने आन्दोलनमा राज्यले बल प्रयोग गर्ने शैलीमाथि प्रश्न उठाएका छन् । उनले लाठीचार्ज र अश्रुग्यास प्रयोग नगरी सिधै गोली चलाउने गरिएको भन्दै सरकारको दृष्टिकोणबारे जवाफ माग गरेका हुन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले मधेस आन्दोलन, थारु आन्दोलनदेखि साना–ठूला विरोध प्रदर्शनमा समेत मधेसमा गोली चल्ने गरेको दाबी गरे । “सभामुख महोदय, म यो राज्यलाई प्रश्न गर्न चाहन्छु– मधेसमा मात्रै आन्दोलन हुँदा गोली किन चल्छ ? मधेस, थारु वा जोसुकैको आन्दोलन होस्, गोली किन चल्छ ? टियर ग्यास किन चल्दैन ?” उनले प्रश्न गरे ।

उनले विश्वका अन्य मुलुकमा सामान्यतया आन्दोलन नियन्त्रणका लागि प्रयोग हुने उपायभन्दा नेपालमा सुरक्षाकर्मीलाई घातक हतियारसहित परिचालन गर्ने गरिएको बताए ।

“दुनियाँमा कसैको पनि प्रहरीसँग एसएलआर हुँदैन । हाम्रोमा किन दिइन्छ ? मधेसमा लाठीचार्ज र टियर ग्यास किन हानिँदैन ? सिधै गोली किन ठोकिन्छ ?” सिंहले भने । उनले प्रहरीलाई हतियारसहित परिचालन गर्दा आन्दोलनकारीले ढुंगा प्रहार गरेकै आधारमा जवाफी कारबाहीका रूपमा गोली चलाउने गरिएको आरोप लगाए ।

सांसद सिंहले नागरिकको आन्दोलन समाधान गर्नुपर्ने ठाउँमा राज्यले सैन्य शैलीको समाधान खोज्ने गरेको भन्दै आपत्ति जनाए । “सरकार मधेसमा हजारौँको संख्यामा प्रहरी, सशस्त्र र सेना परिचालन गर्छ,” उनले भने, “तर हजारौँको संख्यामा शिक्षक परिचालन गर्दैन । के यो सरकारले प्रहरी र सेनाजस्तै शिक्षक परिचालन गरेर जनतालाई शिक्षित बनाउन सक्दैन ?”

उनले पछिल्लो दुई सातादेखि तराई–मधेस क्षेत्र असामान्य अवस्थाबाट गुज्रिएको बताए । उनले कप्तानगञ्ज घटनामा चार जना युवाले ज्यान गुमाएको उल्लेख गर्दै घटनाको गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखे ।

यसैबीच रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय छलफलका लागि गरेको पहलप्रति सिंहले धन्यवाद व्यक्त गरे । उनले प्रधानमन्त्रीले ढिलै भए पनि राष्ट्रका नाममा सम्बोधन गरेको भन्दै त्यसको स्वागत गरे । “प्रधानमन्त्रीले ढिलै भए पनि राष्ट्रका नाममा सम्बोधन गर्नुभयो, धन्यवाद छ,” सिंहले भने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७