छानबिन समितिको निष्कर्ष : कप्तानगन्ज र गोलबजार घटनामा अनावश्यक बल प्रयोग
कप्तानगन्जमा विद्युत् अवरोध योजनाबद्ध, गोलबजारमा डिएसपीको आदेशपछि गोली
काठमाडौं : सुनसरी र सिराहामा गत साउनमा भएका दुई छुट्टाछुट्टै घटनामा सुरक्षाकर्मीले भिड नियन्त्रणका क्रममा आवश्यकभन्दा बढी बल प्रयोग गरेको निष्कर्ष सरकारी छानबिन समितिहरूले निकालेका छन् । घटनाको अध्ययन गर्न गठित दुवै समितिले गोली चलाउने प्रहरी अधिकारीसहित सुरक्षा व्यवस्थापनमा जिम्मेवार अधिकारीलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरेका छन् ।
सुनसरी र सिराहाका घटनाको छानबिन गर्न गठित दुवै समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङसमक्ष प्रतिवेदन बुझाएका छन् । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले दुवै समितिका प्रतिवेदन मन्त्रालयमा प्राप्त भएको जानकारी दिए ।
सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा १० साउनमा भएको झडपका क्रममा सुरक्षाकर्मीले २० राउन्ड गोली चलाएको छानबिनबाट खुलेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैबाट गोली चलेको उक्त घटनामा तीन स्थानीयको ज्यान गएको थियो ।
सुरक्षाकर्मीको गोली लागेर घाइते भएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मृत्यु भएको थियो । सहसचिव भूपेन्द्र थापा नेतृत्वको समितिले घटनामा सुरक्षाकर्मीले भिड नियन्त्रणका लागि अपनाउनुपर्ने क्रमिक उपायलाई बेवास्ता गरेको ठहर गरेको छ ।
सामान्य अवस्थामा लाठी, अश्रुग्यास, रबर बुलेटलगायतका गैरघातक माध्यम प्रयोग गरेर परिस्थिति नियन्त्रणमा लिनुपर्ने भए पनि त्यसतर्फ पर्याप्त प्रयास नगरी गोली प्रहार गरिएको समितिको निष्कर्ष छ । समितिले घटनाको सुरक्षा व्यवस्थापनमा समन्वयको कमीसमेत औंल्याएको छ ।
त्यसका आधारमा सुनसरीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिएसपी तथा घटनास्थलमा खटिएका प्रहरी इन्स्पेक्टरमाथि कारबाही गर्न सिफारिस गरिएको छ । घटनाको दिन दुवै सुरक्षा निकायका जिल्ला प्रमुख अर्थात् एसपीहरू बिदामा रहेको देखिएकाले उनीहरूलाई भने कारबाहीको सिफारिस गरिएको छैन ।
कप्तानगन्जमा झडप भइरहेका बेला विद्युत् आपूर्ति बन्द भएको विषयलाई लिएर पनि छानबिन गरिएको थियो । समितिले बत्ती निभ्नु पूर्वयोजनाको हिस्सा नभएको निष्कर्ष निकालेको छ ।
प्राविधिक परीक्षणबाट विद्युत् ट्रिपिङका कारण आपूर्ति अवरुद्ध भएको पुष्टि भएपछि उक्त घटनालाई योजनाबद्ध गतिविधिसँग जोड्न नसकिने समितिको निष्कर्ष छ । समग्र घटना पनि पूर्वयोजनाभन्दा आकस्मिक रूपमा विकसित भएको समितिले जनाएको छ ।
गोलबजारमा डिएसपीको आदेशपछि गोली
सिराहाको गोलबजारमा १४ साउनमा भएको घटनामा भने डिएसपी रमेश पालको आदेशपछि गोली चलाइएको छानबिनबाट खुलेको छ । सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले डिएसपी पालमाथि घटनाको संवेदनशीलता मूल्यांकन नगरी आवेगमा आएर गोली चलाउने आदेश दिएको ठहर गरेको छ ।
छानबिनका क्रममा डिएसपी पाललाई ढुंगा लागेपछि गोली चलाउन आदेश दिएको तथ्य खुलेको समितिले जनाएको छ । गोली प्रहारमा डिएसपी पालसँगै सुमन नेपाली पनि संलग्न रहेको उल्लेख छ ।
प्रहरीको गोली लागेर गोलबजारमा गणेश यादवको मृत्यु भएको थियो । समितिले सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र प्रहरी उपरीक्षक वासुदेव पाठकलाई समेत सचेत गराउन सरकारसमक्ष सिफारिस गरेको छ । प्रहरीबाट गोली चलेको घटनामा समेत गोली प्रहार गर्ने अधिकारीबारे जानकारी नभएको भन्दै सिडिओ पौडेलले दिएको अभिव्यक्तिलाई समितिले जिम्मेवार अधिकारीको भूमिकासँग मेल नखाने मानेको छ ।
.gif)

.png)

