‘झिंगे दाउ २’मा केकी–आँचलको तीज झगडा
जेठानी–देउरानी आमनेसामने
काठमाडौं : तीन वर्षअघि प्रदर्शनमा आएर दर्शकको मन जितेको फिल्म ‘झिंगे दाउ’ युट्युबमा सार्वजनिक भएसँगै पनि दर्शकको राम्रो साथ पाइरहेको छ। ओएसआर डिजिटलबाट शुक्रबार सार्वजनिक गरिएको फिल्मले दुई दिन नबित्दै २१ लाखभन्दा बढी भ्यूज पाएको छ। पहिलो श्रृंखलाले डिजिटल प्लेटफर्ममा समेत राम्रो प्रतिक्रिया पाइरहेका बेला यसको सिक्वेल ‘झिंगे दाउ २’ को प्रचार सामग्रीले पनि दर्शकको ध्यान तान्न थालेको छ।
‘झिंगे दाउ २’का लागि तीजलाई लक्षित गर्दै एउटा विशेष गीतको छायांकन गरिएको छ। गीतमा अभिनेत्री केकी अधिकारी र आँचल शर्मा रातो सारीमा देखिएका छन्। उनीहरू गीतमा नाचेका मात्रै छैनन्, कथाअनुसार जेठानी–देउरानीको भूमिकामा एकअर्कासँग नोकझोंकसमेत गरेका छन्। बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा एलिना चौहान र रचना रिमालको स्वर छ। रामजी लामिछानेले गीतको नृत्य निर्देशन गरेका छन्। निर्माण पक्षका अनुसार गीत भदौ १० गते सार्वजनिक गर्ने तयारी छ।
यसअघि ‘झिंगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक भइसकेको छ। प्रमोद खरेल र मनिषा सुनारको स्वर, डा. कृष्णहरि बरालको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतले आमाको माया, त्याग र वृद्धाश्रमको सामाजिक यथार्थलाई उठाएको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको ‘झिंगे दाउ २’ आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। फिल्ममा केकी अधिकारी, आँचल शर्मा, आर्यन सिग्देल, महेश त्रिपाठी, कुशल बिष्ट, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंहलगायत कलाकारको अभिनय छ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी छ। विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन तथा रोशन श्रेष्ठको एक्सन रहेको छ। तीन वर्षअघि प्रदर्शनमा आएको पहिलो ‘झिंगे दाउ’ले बक्स अफिसमा सफलता पाएको थियो। त्यसको सिक्वेल भएकाले ‘झिंगे दाउ २’प्रति पनि दर्शकको चासो बढेको निर्माण पक्षको अपेक्षा छ।
.gif)

.png)

