मनसुन सक्रिय : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको जोखिम


२०८३ भदौ १२ शुक्रबार ०७:०६ बजे
फाइल फोटो

काठमाडौं : मनसुनी वायुको प्रभावका कारण आज देशभर मौसम बदली रहने तथा विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार केही स्थानमा चट्याङ्सहित मध्यम वर्षा हुने र पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी वर्षाको जोखिम रहेको छ।

हाल हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ भने तराईमा आंशिक बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेसका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा चट्याङ्सहित मध्यम वर्षा हुने सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा पनि चट्याङ्सहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थान तथा मधेस र कोशीका तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। यसैगरी कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभाग तथा लुम्बिनीका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ।

आज रातिसमेत देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा चट्याङ्सहित मध्यम वर्षाको सम्भावना छ। मधेस तथा कोशीका तराई क्षेत्रमा पनि वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग र लुम्बिनीको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७