विपद्को मौका छोपेर निगम र व्यापारीको मिलेमतोमा बढाइयो ग्यासको मूल्य
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो गएपछि वैकल्पिक मार्गबाट एलपी ग्यास ढुवानी गर्नुपर्दा त्यसको लागत बढेको भन्दै काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ ३८ पैसा बढाइएको छ।
नेपाल आयल निगमले प्रतिसिलिन्डर एलपी ग्यासको मूल्य २ हजार ६० रुपैयाँ तोकेकोमा उद्योगीले ढुवानी लागत बढेको भन्दै थप रकम उपभोक्ताबाट लिन थालेका हुन्। अब काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पुगेको छ। ग्यास उद्योग संघले भदौ १८ गते बसेको वार्षिक साधारणसभाको निर्णयअनुसार उपत्यकामा ग्यासको मूल्य समायोजन गरिएको जनाएको छ।
संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार कृष्णभीरमा पहिरोका कारण नियमित सडकमार्ग अवरुद्ध भएपछि ग्यासलाई वैकल्पिक बाटोबाट ल्याउनुपर्दा ढुवानी खर्च बढेको हो। उनका अनुसार पहिले बुलेटमार्फत प्रतियात्रा करिब १ हजार २५० सिलिन्डर ग्यास ढुवानी हुने गरे पनि अहिले तराईमा बोटलिङ गरी थप माध्यमबाट काठमाडौं ल्याउनुपर्ने अवस्था छ।
वैकल्पिक ढुवानीका कारण प्रतिसिलिन्डर करिब १ सय ८० रुपैयाँसम्म अतिरिक्त लागत परेको भए पनि उपभोक्ताबाट भने १ सय ५ रुपैयाँ ३८ पैसा मात्रै थप लिइएको उद्योगीको दाबी छ। नेपाल ग्यास उद्योगका सञ्चालक गोकुल भण्डारीले ग्यासको खरिद मूल्य नबढेको स्पष्ट पार्दै ढुवानी लागत बढेका कारण मात्रै उपभोक्ता मूल्य वृद्धि गरिएको दाबी गरेका छन्।
उनका अनुसार निगमले काठमाडौंसम्मको नभई तराईसम्मको मात्रै ढुवानी खर्च उपलब्ध गराउने भएकाले ५० किलोमिटरभन्दा बढी दूरीमा हुने अतिरिक्त ढुवानीको खर्च उद्योगीले लिन पाउने व्यवस्था छ। वास्तविक अतिरिक्त खर्च २ सय रुपैयाँभन्दा बढी भए पनि निगमको प्रावधानअनुसार प्रतिसिलिन्डर १ सय ५ रुपैयाँभन्दा बढी लिन नमिल्ने उनको भनाइ छ।
यता, नेपाल आयल निगमले पनि उद्योगबाट ५० किलोमिटर दूरीसम्मको मूल्य मात्रै निगमले निर्धारण गर्ने जनाएको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार सोभन्दा बढी दूरीमा ग्यास ढुवानी गर्दा उद्योगीले अतिरिक्त ढुवानी भाडा जोडेर लिन पाउने व्यवस्था पहिलेदेखि नै लागू छ। उनले यो कुनै नयाँ व्यवस्था नभएको र देशभरका ग्यास उद्योगले ५० किलोमिटरभन्दा टाढा ग्यास पठाउँदा अतिरिक्त ढुवानी खर्च जोडेर मूल्य लिन पाउने बताए।
.gif)

.png)

