चोलेन्द्रलाई भेट्न दिइएन, फर्कियो मानव अधिकार आयोग टोली
काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न प्रहरीले अनुमति नदिएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट फर्किएको छ।
जबरालाई भेट्न पुगेको आयोगको टोलीलाई प्रहरीले कार्यालयको गेटमै रोकेको थियो। करिब ४५ मिनेट कुर्दासमेत भेट्न नदिएपछि टोली फर्किएको हो।
जबरालाई प्रहरीले गएराति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर टेकु पुर्याएको थियो। उनलाई हाल अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखिएको छ।
प्रहरीले जबरामाथि ‘सुरक्षा थ्रेट’ रहेकाले सुरक्षाका लागि रातारात कार्यालयमा ल्याएर राखिएको बताएको छ। तर, उनलाई कुन कानुनी आधारमा र कुन प्रक्रियाबाट नियन्त्रणमा लिइएको हो भन्ने विषयमा भने प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
यसैबीच, मानव अधिकार आयोगको टोलीलाई समेत भेट गर्न नदिइएको घटनाले जबरालाई कार्यालयमा राखिएको प्रक्रिया र उनको मानव अधिकारको अवस्थाबारे थप प्रश्न उठाएको छ। कानुनका जानकारहरूले समेत प्रहरीले अपनाएको शैलीमाथि प्रश्न उठाएका छन्।
.gif)

.png)


